महानगरले ३ करोडमा सार्वजनिक शौचालय निर्माण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ करोड रुपैयाँ लगानीमा सार्वजनिक शौचालय बनाउने भएको छ । सो लगानीमा सम्पदा क्षेत्र र मानिसहरुको अत्याधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गरिने भएको हो ।

 

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको सम्बद्ध विभागीय प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो । गएको मंसिर १७ गते बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो ।

 

बैठकमा सहरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुरेन्टलगायत निजी तथा व्यवसायिक स्थानमा सञ्चालन रहेका शौचालयलाई सार्वजनिक रुपमा सञ्चालन गर्दा हुने आपसी हितका विषयमा पनि उठान भएका थिए ।

 

यस सम्बन्धि कार्यबिधि सम्बन्धि प्रस्ताव आगामी कार्यपालिका बैठकमा पेश गर्ने तयारी भएको जनाउँदै उनले तत्काल परिणाम देखिने गरी काम थालनी गर्न वातावरण व्यवस्थापन बिभागमार्फत काम अघि बढाइने बताइन् । महानगरको सहरी योजना आयोगले काठमाडौंमा उपयुक्त हुने सार्वजनिक शौचालयका ढाँचा, लागत र स्थानको अध्ययन गरिसकेको छ । ती ढाँचा लिएर उपयुक्त स्थानमा शौचालय निर्माण प्रक्रिया अघि बढाउनेछ ।

 

बैठकले प्रशासन बिभागका प्रमुख नवराज ढकालको संयोजकत्वमा ‘व्यवसायिक सामाजिक उत्तर दायित्व नीति मस्यौदा कार्यदल’ गठन गरेको छ । कार्यदलको सदस्यमा सार्वजनिक निजी साझेदारि इकाइ प्रमुख धु्रव काफ्ले र खरिद इकाइका प्रमुख बलराम त्रिपाठी रहेका छन् ।

 

महानगरसँग सार्वजनिक निजी साझेदारिमा हुने कामका लागि छुट्टै ऐन छ । त्यस ऐनमा व्यवसायिक सार्वजनिक सामाजिक उत्तरदायित्वमा हुने कामका बिषयमा व्यवस्था नभएकाले कार्यदल गठन गरेर नीति मस्यौदा गर्न कार्यदल बनाइएको उपप्रमुख खड्गी श्रेष्ठले जानकारी दिइन् ।

म्याग्दीकाे जिल्ला प्रशासन कार्यलयमा प्रभुको एक्स्टेन्सन काउण्टर Read Previous

म्याग्दीकाे जिल्ला प्रशासन कार्यलयमा प्रभुको एक्स्टेन्सन काउण्टर

सहकारी ऐन २०७४ कार्यान्वयनमा आउन नपाउँदै संशोधनको तयारी सुरु Read Next

सहकारी ऐन २०७४ कार्यान्वयनमा आउन नपाउँदै संशोधनको तयारी सुरु