राजमार्ग अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइदै

झापा । झापामा पूर्व-पश्चिम राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना हटाइने भएको छ । डिभिजन सडक कार्यालय दमकले झापाका स्थानीय तहलाई सडक अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन पत्राचार गरेको छ ।

पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि दमकसम्मको ५० किलोमिटर खण्डमा छ वटा नगरपालिका क्रमशः मेचीनगर, विर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी र दमक पर्दछ भने एउटा कमल गाउँपालिका पर्दछ ।

 

सडकको सीमा मिचेर बनाइएका घर, टहरालगायतका संरचना अविलम्ब हटाएर सडकको जग्गा खाली गर्न सबै नगरपालिका तथा गाउँपालिकालाई पत्राचार गरिएको सडक कार्यालयले जनाएको छ । अहिलेसम्म स्थानीय तहले राजमार्गको अतिक्रमण हटाउने कदम चालेका छैनन् ।

एशियाली राजमार्गसमेत निकट भविष्यमा निर्माण हुने र अहिले अतिक्रमणका कारण सवारी दुर्घटनामा वृद्धि भएका कारण अतिक्रमण हटाउन निर्णायक पहल गरिएको डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले बताए ।

 

सार्वजनिक सडक ऐन २०३१ अनुसार स्थानीय तहले सम्झाउँदा पनि हट्न नमानेमा प्रशासनको सहयोग लिएर जुनसुकै बेला बल प्रयोग गरेर अतिक्रमण हटाइने प्रमुख यादव बताउँछन् ।

 

सबै सडकलाई अतिक्रमणबाट जोगाउने जिम्मेवारी स्थानीय सरकारको भएता पनि जनप्रतिनिधिहरुले बेवास्ता गरेको सडक कार्यालयका प्रमुख यादवको आरोप छ । उहाँले राजमार्ग ५० मिटरको हुने र छेउका नम्बरी जग्गाधनीले समेत क्रङ्क्रिटको संरचना बनाउँदा सडकको सीमाबाट छ मिटर टाढा मात्र बनाउनुपर्ने नियम रहेको जानकारी दिए ।

 

झापामा दमक नगरपालिकामा सबैभन्दा बढी सडक अतिक्रमण गरेर बनाइएका टहरा तथा खुद्रे पसल रहेका छन् । उनले कनकाईको सुरुङ्गा बजार, विर्तामोडको बजार क्षेत्र र मेचीनगरको चारआली क्षेत्रमा अतिक्रमित संरचना छन् ।

 

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सडक कार्यालयबाट अनुरोध आएमा सुरक्षाकर्मी लगाएर अतिक्रमण हटाउन प्रशासन तयार रहेको बताए । रासस

पर्यटकीय गन्तव्य ‘रोइनदेवी’ क्षेत्र निर्माणले गति लिएन Read Previous

पर्यटकीय गन्तव्य ‘रोइनदेवी’ क्षेत्र निर्माणले गति लिएन

चैतदेखि मोबाइलबाट कल गर्न सस्तो हुने Read Next

चैतदेखि मोबाइलबाट कल गर्न सस्तो हुने