फास्ट ट्रयाकमा पुल र सुरुङ निर्माण, माघ ३ गतेसम्म परामर्शदताले आवेदन दिन सक्ने

निर्माणधीन फास्टट्रयाक

काठमाडौं । तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणले गति लिने भएको छ । सडक निर्माणलाई तीव्रता दिइरेको सेनाले पुल निर्माणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोटको प्रकृया अघि बढाइएको हो ।

 

तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा भइसेको छ ।

 

सेनाले आह्वान गरेअनुसार परामर्श दाताहरुले आगामी माघ ३ गतेसम्म प्रस्ताव पेश गर्न सक्ने छन् । कम्पनीहरुले गरेको प्रस्तावको मूल्याङ्कन पछि बैशाखसम्ममा परामर्शदाता छनोट गर्ने सेनाको तयारी रहेको छ । छनोट हुने परामर्शदाताले दिएको रिपोर्टका आधारमा पुल, टनेल र सडक निर्माण अगाडि बढ्ने छ ।

 

कूल ७२.५ किलोमिटर लामो द्रुतमार्गमा चार लेनको सडक बनाइने छ । द्रुतमार्गका सडकमा समथर भू-भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीनवटा सुरुङको लम्बाइ ६.४१ किलोमिटर र पुलको लम्बाइ १०.५९ किलोमिटर हुनेछ ।

 

परामर्श दाताले आगामी आर्थिक वर्षसम्ममा फिल्डमै गएर पुल, टनेल र सडकको काम थालिसक्ने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । प्रस्ताव गर्नेमध्ये ६ वटा परामर्श दाता छनोट गरी तिनको मूल्याङ्कनको आधारमा एउटा कम्पनीलाई छनोट गरिने छ ।

 

फास्ट ट्रयाक अन्तर्गत ८७ वटा पुलहरु निर्माण गरिने छन् । जस मध्ये १६ वटा नयाँ डिजाइनका हुने उनले बताए ।‘अब बन्ने ८७ वटा पुल मध्ये १६ वटा पुल यूनिक डिजाइनका हुने छन्, यी पुलहरु हाइ ब्रिज र लंग स्ट्याक्ड भएका हुने छन्, जुन नेपालीहरुले तयार गर्न सक्दैनन्, त्यसैले यसका लागि विदेशी परामर्श दाता चाहिने भएको हो,’ पाण्डेले चाणक्य पोष्टसँग भने ।

 

फास्ट ट्रयाक निर्माणको काम १० देखि १२ वटा प्याकेजमा काम छुट्याएर एकै पटक अगाडि बढाउने सेनाको तयारी छ । प्रत्येक प्याकेजको काम २ देखि ३ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए ।

 

‘विभिन्न प्याकेज छुट्याएर एकै पटक काम गर्दा सबै तिरको कामले गति पाउँछ, हामीले तोकेकै समयमा काम पूरा हुने गरी काम गर्ने छौँ,’ पाण्डेले भने ।

 

टनेलको काम असारबाट शुरु हुने

 

टनेल निर्माणको काम आगामी असारबाट शुरु गरिने पाण्डेले जानकारी दिए । हाल कलभोट, पानी जाने वे बनाउने, पिच गर्नु अघि गर्नु पर्ने कामको तयारी भइरहेको उनले बताए

द्रुत मार्गमा तीन वटा सुरुङ निर्माण हुनेछन् । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार महादेवडाँडामा ३.३५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

 

यस्तै धेद्रेमा १.६३ र लेनडाँडामा १.४३ किलोमिटर लामो सुरुङ निर्माण गर्नु पर्नेछ । सुरुङ मार्ग निर्माणका लागि ठेकेदार र परामर्शदाता छनोटको प्रक्रिया शुरु भइसकेको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ६ वटा संस्थाले आशयपत्र पेश गरेका छन् । परामर्शदाता छनोटसँगै सुरुङ र पुल निर्माणको प्राविधिक तयारीले पूर्णता पाउनेछ ।

 

आगामी बैशाखसम्म सो कार्य सम्पन्न गरी पुल र सुरुङका लागि निर्माण व्यवसायी छनोट गर्ने प्रक्रिया अगाडि बढ्नेछ । कालोपत्र गर्ने तहको सडक निर्माण सम्पन्न भएसँगै सुरुङ र पुल निर्माणका लागि निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्य सेनाले राखेको छ ।

 

कूल ७२.५ किलोमिटर लामो द्रुतमार्गमा चार लेनको सडक बनाइने छ । द्रुतमार्गका सडकमा समथर भू-भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीनवटा सुरुङको लम्बाइ ६.४१ किलोमिटर र पुलको लम्बाइ १०.५९ किलोमिटर हुनेछ ।

व्यापार घाटा कम गर्न वस्तु आयातमा परिमाणात्मक बन्जेद लगायौँ : मन्त्री खतिवडाको अन्तर्वार्ता Read Previous

व्यापार घाटा कम गर्न वस्तु आयातमा परिमाणात्मक बन्जेद लगायौँ : मन्त्री खतिवडाको अन्तर्वार्ता

नेपाल भ्रमण वर्ष : बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस Read Next

नेपाल भ्रमण वर्ष : बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस