राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्ययाको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्ययाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको हो । सो अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ ।

बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्र रुपमा काम अघि बढाउन निर्देशन दिए ।

उनले प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेकाले अस्पतालको स्तरोन्नति भएपछि त्यहाँका जनताको सहज स्वास्थ्य सेवाका लागि सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

सभाको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट पारित हुनुका साथै गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षकको प्रतिवेदन जानकारी गराइएको छ ।

यसैगरी बैठकबाट आगामी आर्थिक वर्षको प्रस्तावित वार्षिक कार्यक्रमसहितको बजेट पारित गरिएको छ भने प्रतिष्ठानको रिक्त सभा सदस्यहरुको मनोनयन गरिएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावललगायत सहभागी थिए ।

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, पुनर्बीमा कम्पनीको सेयरमा उच्च आकर्षण Read Previous

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, पुनर्बीमा कम्पनीको सेयरमा उच्च आकर्षण

सुलभ फार्मेसी संचालन गर्दै काठमाडौं महानगर, व्यवस्थापन गर्न समित गठन Read Next

सुलभ फार्मेसी संचालन गर्दै काठमाडौं महानगर, व्यवस्थापन गर्न समित गठन