मुग्लिन-पोखरा सडककाे अवरोध हट्यो, अब राेकिनु नपर्ने

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा खण्डको विस्तारको काम तीव्र रुपमा भइरहेको छ । राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हटेको छ ।

विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा भएको अवरोध आजदेखि हटेको हो ।

विमलनगर चुनपहरामा चट्टान कटानको काम गर्न गरिएको यातायात अवरोधले यात्रुले सास्ती भोग्नुपरेको थियो । राजमार्ग विस्तारको कामका लागि चुनपहरास्थित सडक निर्माण कार्यलाई तीव्रता दिन एक महिनासम्म आंशिक रुपमा बन्द गरिएको थियो । यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म ५०० मिटर खण्ड आंशिक रूपमा बन्द गरिएकामा आजदेखि सहज रुपमा सवारीसाधन सञ्चालन हुने भएको हो ।

उक्त खण्ड आवश्यकताअनुसार समय समयमा ४५ मिनेटदेखि एक घण्टासम्म बन्द गरी काम गर्ने गरिएकामा सो अवरोध हटेको मुग्लिङ-पोखरा सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। निर्माणको काम भने जारी रहेकाले आंशिक रूपमा करिब १५ मिनेटसम्म अवरोध हुन सक्ने उनले बताए ।

पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखांकन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ । रासस

ग्लोबल आइएमई बैंकका ग्राहकले लुम्बिनी मेडिकल कलेजमा २५% छुट पाउने Read Previous

ग्लोबल आइएमई बैंकका ग्राहकले लुम्बिनी मेडिकल कलेजमा २५% छुट पाउने

चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मनी निर्यात सुरु Read Next

चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मनी निर्यात सुरु