पोखरा-बुटबल सडक स्तरोन्नति गर्न २० अर्ब लाग्ने, दूरी छोट्याउन सुरुङ र भायडक्ट

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा-बुटवल सडक दुई लेनमा स्तरोन्नति गर्न पौने २० अर्ब रुपैयाँ लाग्ने भएको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन अनुसार पोखरा बुटवल सडकखण्डको १८२ किलोमिटरमध्ये १५७.९५ किलोमिटर सडक स्तरोन्नति गर्न १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ लाग्नु अनुमान गरिएको हो ।

उक्त सडकको अल्पकालीन र दीर्घकालीन सुधारका लागि प्रस्ताव गरिएको छ । आयोजनाको अल्पकालीन सुधार अन्तर्गत सडक निर्माणमा १० अर्ब ३८ करोड ७० लाख र दीर्घकालीन विकल्प (भायाडक्ट, सुरुङ)को ९ अर्ब ३७ करोड २० लाखसहित कुल लागत १९ अर्ब ७५ करोड ९० लाख (भ्याटसहित) प्रस्ताव गरिएको छ ।

अल्पकालीन सुधारअन्तर्गत विकल्पका रूपमा सडकखण्डलाई सबै मौसममा सुचारु रहने डबल बिटुमिनको सर्फेस टिट्रमेन्ट मापदण्डअनुसार स्तरोन्नति र पुलहरूको मर्मत-सम्भार गरिने भएको छ ।

गण्डकी र लसम्बिनी प्रदेशका चार जिल्ला (कास्की, स्याङ्जा, पाल्पा र रुपन्देहीं जोड्ने यो सडक हाल साढे ५ मिटरदेखि ६ मिटर चौडाइ रहेको छ । यस सडकलाई अब कम्तीमा ७ मिटर क्यारिजवे विथ, सडकको दुवैतर्फ १.५/१.५ मिटरको सोल्डर विथसहित १० मिटर फराकिलो बनाउने प्रस्ताव गरिएको छ । साथै, १ मिटरको नाला पनि बनाइने छ भने आवश्यकताका आधारमा पुलहरू मर्मत-सम्भार गरिनेछ । त्यस्तै, आयोजना अन्तर्गत सडकमा पाइप कल्र्भट ३२५, आर्क कल्भर्ट १६, स्याब कल्भर्ट ४३३ र पुल ३३ वटा रहने छन् ।

त्यसैगरी, दीर्घकालीन सुधार कार्यमा सडकमा अवस्थित घुम्तीलाई घटाउन भायाडक्ट (घुमाउरो ठाउँमा सिधा बनाउन अग्ला पिल्लर राखेर पुल जस्तै निर्माण गरिने संरचना) सुरुङमार्ग र बाइपास निर्माण गर्ने प्रस्ताव गरिएको छ । सडकको कुल लम्बाइ घटाउन ३८ स्थानमा भायाडक्ट, ५ स्थानमा सुरुङमार्ग र बाइपास प्रस्ताव गरिएको छ । यी संरचना निर्माणका लागि ९ अर्ब ३७ करोड २० लाख लाग्ने अनुमान गरिएको छ ।

३८ स्थानमा भायाडक्ट निर्माण गर्दा सडकको लम्बाइ ४.४२ किलोमिटर छोटिने छ । भायाडक्ट ८ देखि ९२ मिटर लामो र ६ देखि २० मिटर उचाइका हुने उल्लेख गरिएको छ । हालसम्म नेपालका सडकमा भायाडक्ट प्रविधि प्रयोग गरिएको छैन ।

त्यसैगरी, ५ स्थानमा गरी ७५२ मिटर लामो सुरुङमार्गको प्रस्ताव गरिएको छ । जसमा सिद्धबाबामा २२७ मिटर, मायाटारीमा १३२ मिटर, स्याङ्जामा ९९मिटर, रामकोशमा १०३ मिटर र भालुपहाडमा १९१ मिटर लामो रहनेछ । ती सुरुङमार्गले सडकको लम्बाइ २.२३ किलोमिटर छोट्याउनेछ । त्यसैगरी, स्याङ्जाको पुतली बजारमा बाइपासको प्रस्ताव गरिएको छ ।आयोजनाको निर्माण अवधि ४ वर्ष रहेको छ ।

कति चाहिन्छ निर्माण सामग्री ?

उक्त सडक निर्माण गर्न ३६ लाख ६२ हजार २१३ घनमिटर ढुंगा, गिट्टी चाहिन्छ । २७ लाख १९ हजार ३३३ घनमिटर माटो कटानसँगै २ लाख ७८ हजार ९४२ घनमिटर माटो भरण गरिनेछ । आयोजना सम्पन्न गर्न ५४.१२५ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये ५२.११ हेक्टर स्थायी रूपमा र २.०१८ हेक्टर अस्थायी रूपमा आवश्यक पर्नेछ ।

१६५ सार्वजनिक पूर्वाधार प्रभावित हुने

सडक निर्माणका क्रममा कुल १६५ सार्वजनिक पूर्वाधार प्रत्यक्ष प्रभावित हुनेछन् । ४५ वटा बस बिसौनी, २१ संस्थागत भवन, २३ वटा सार्वजनिक धारा, १५ वटा सार्वजनिक शौचालय, १६ वटा चौतारा, ४६ वटा बिजुलीका पोल, सातवटा ट्रान्सफर्मर, १३ वटा मठ-मन्दिर/मस्जिद, एक पानी ट्यांकी प्रभावित हुनेछन् । त्यस्तै, ३५५ घरधुरी प्रभावित हुने छन् भने र १ हजार ५४० रुख कटान गर्नुपर्नेछ ।

लेखा समितिले १५ दिन भित्र ४८ उजुरी निष्कर्षमा पुर्‍याउने, ७ उपसमिति गठन Read Previous

लेखा समितिले १५ दिन भित्र ४८ उजुरी निष्कर्षमा पुर्‍याउने, ७ उपसमिति गठन

ढल्केबर-बारा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न Read Next

ढल्केबर-बारा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न