काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत कर्मचरीले आन्दोलन घोषणा गरेका छन् ।
आयोजनामा कार्यरत दोलखा जिल्लाबासी स्थानीय कर्मचारीहरूले आगामी चैत १० गतेदेखि शान्तिपूर्ण धर्ना दिने भएका हुन् ।
विगत केही वर्षदेखि कम्पनीमा कार्यरत दोलखाबासी कर्मचारीहरू र अन्य जिल्लाका कर्मचारीहरू बीच सेवा सुविधामा विभेद रहेको भन्दै उनीहरू समान सुविधाको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
स्थानीय कर्मचारीले कम्पनी व्यवस्थापनले विगत २ वर्षदेखि उपलब्ध गराउँदै आएको सेवा सुविधामा विभेद गरेको भन्दै गत असोजमा पनि धर्ना दिएका थिए । तर, असोज ६ गते कम्पनी व्यवस्थापन र दोलखा जिल्लाबासी कर्मचारीहरूद्वार गठित संघर्ष समितिका प्रतिनिधिहरू बीच माघ मसान्तसम्ममा सबै कर्मचारीहरूको सेवा सुविधामा समानता कायम गर्ने द्विपक्षीय सहमति पछि धर्ना कार्यक्रम रोकिएको थियो।
उक्त सहमति कार्यान्वयनका लागि संघर्ष समितिले माघ १ गते संयुक्त स्मरणपत्र र फागुन २८ गते ताकेतापत्र पेश गरेको समितिले जनाएको छ ।
त्यसपछि पनि कम्पनीको व्यवस्थापन सहमति कार्यान्वयन नगरेकोले १० गतेदेखि पुनः शान्तिपूर्ण धर्ना तथा विरोध सभा गर्ने संघर्ष समितिले जनाएको छ ।
समितिले कम्पनीको सवारी साधन सञ्चालनमा रोक लगाउने, गोंगरस्थित कार्यालयको कामकाज ठप्प पार्ने पनि बताएको छ। गोंगरस्थित पावर प्लाण्ट सञ्चालनमा भने कुनै अवरोध नगर्ने समितिले जनाएको छ।