
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । १७ लाख ७१ हजार बढीको भने हात खाली भएको छ ।
कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
जसमा १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये १० हजार १२६ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, बिक्री प्रबन्धक एनआइएमबी क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।