माडौं । गत असोज दोस्रो साता आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निमाण अन्तर्गत दोस्रो खण्डको पनि ठेक्का आह्वान भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले मंगलबार एक सूचना जारी गर्दै काभ्रेखण्डको ८ किलोमिटर सकड पुनर्निर्माणका लागि ठेक्का आह्वान गरेको हो ।
डिभिजनले काभ्रेको दल्लाबेसीदेखि चरसयाबेँसी सडकखण्डको निर्माणका लागि ठेक्का आह्वान गरेको हो । यो सडकलाई दुई लेनको बनाइने छ ।
यसको कुल लागत साढ २ अर्ब रुपैयाँ रहेको छ । इच्छुक निर्माण कम्पनीले आजको ३० दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदकले धरौटीबापत साढे ६ करोड रुपैयाँ राख्नुपर्नेछ । यो सडक २ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाउन लागिएको हो ।
गत साता पहिलोखण्ड (नेपालथोक-बर्खेखोला) ५ किलोमिटर सडकखण्ड पुननिर्माणका लाठि ठेक्का आह्वान गरिएको थियो ।
सरकारले बाढीले क्षतिग्रस्त बीपी राजमार्गको २८ किलोमिटर सडकलाई काभ्रेमा तीन र सिन्धुलीमा एकसहित चार प्याकेज बनाएर निर्माणको काम अघि बढाउन लागेको हो । बाँकी दुई खण्डको ठेक्का पनि चाँडै आह्वान गरिने कार्यालयले जनाएको छ ।
अर्थ मन्त्रालयले बीपी राजमार्ग पुनर्निर्माणका लागि गत फागुन ६ गते स्रोत सहमति दिएको थियो । अर्थले भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डमा १ अर्ब रुपैयाँ गरी कुल साढे ८ अर्ब रुपैयाँको स्रोत सहमति दिएको छ ।
सरकारले उक्त सडक पुनर्निर्माण गरिदिन जापानी सहयोग नियोग जाइकालाई आग्रह गरेका थियो । जाइकाले हालसम्म कुनै प्रतिक्रिया नदिएपछि सरकारले आफ्नै स्रोतमा ठेक्का प्रक्रिया अघि बढाएको हो ।