काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा साढे १४ खर्ब रुपैयँँ बढीको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म कुल १४ खर्ब ५५ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस अवधिमा कुल ३ अर्ब २५ करोड ९४ लाख कित्ता सेयर किनबेच भएको नेप्सेको तथ्यांक छ । चालु अआवमा औसतमा दैनिक झण्डै १० अर्बको सेयर किनबेच भएको छ ।
गत आर्थिक वर्ष २०८०८१ को फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिमा सेयर कारोबार साढे तीन गुणाले बढेको छ ।
गत वर्ष ८ महिनामा कुल ४ खर्ब १५ अर्ब ७८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा चालु आवमा बढेर १४ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको हो । गत वर्षको तुलनामा चालु आवमा सेयर कारोबार २५०.१५ प्रतिशतले बढको हो ।
चालु आवमा नेप्से परिसूचक बढेसँगै कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो । गत वर्ष २२०० बिन्दु माथि उक्लिन नसकेको नेप्से ३ हजार बिन्दुसम्म पुगेको थियो ।
गत असार १७ गते सांसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरेसँगै नेप्सेको एकोहोरो बढेर डेढ महिना (साउन अन्तिम)मा १ हजार अंकले बढेको थियो । असार १७ मा २ हजार बिन्दुमा रहेको नेप्से साउन ३१ गते ३ हजार बिन्दु पुगेको थियो ।
यद्यपि, भदौ यता नेप्से घट्दो क्रममा छ । यस अवधिमा २४०० बिन्दुसम्म झरेको नेप्से अहिले २७०० बिन्दु हाराहारीमा छ । साउनमा सूचकसँगै कारोबार रकममा पनि उछाल आएको थियो । एकैदिन ३० अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो ।
हाल अर्थतन्त्रका अधिकांश सूचक सेयर बजारमैत्री रहे पनि अपेक्षित गति लिन भने सकेको छैन । अहिले बैंकिङ प्राणालीमा अधि तरलता छ । बैंकहरूमा ६ खर्ब रुपैयाँ बढी पैसा थुप्रिएर बसेको छ । बैंकको ब्याजदर ३ वर्ष यताकै सस्तो छ । बेसरेट ७ प्रतिशतभन्दा तल झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले ७/७.५ प्रतिशत ब्याजदरमै ऋण पाउन सक्ने अवस्था छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले पनि सेयर बजारप्रति एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएको छ । सेयर कर्जाको जोखिमभार घटाउँदै लगेको छ भने संस्थागत तर्फको सेयर धितो कर्जाको सीमा नै खारेज गरिदिएको छ । जसकारण चालु आवको ७ महिनामै २५ अर्ब रुपैयाँ बढीको सेयर कर्जा लगानी भइसकेको छ । अधिकांश सूचक बजार अनुकूल रहेकाले आगामी दिनमा नेप्सेले गति लिने लगानीकर्ताको अपेक्षा छ । जसकारण दैनिक सेयर खरिदबिक्री बढिरहेको देखिन्छ ।
रोजाइमा हाइड्रोपावर
नेप्सेमा सूचीकृत १३ क्षेत्रका कम्पनी मध्ये लगानीकर्ताको रोजाइमा भने हाइड्रोपावर कम्पनीको सेयर देखिएको छ । चालु आवको ८ महिनामा साढे १४ खर्बको सेयर किनबेच हुँदा हाइड्रोपावर कम्पनीहरूको हिस्सा एकतिहाई बढी छ । अर्थात् ४ खर्ब ९३ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । यो कुल कारोबारको ३४ प्रतिशत हो ।
तुलनात्मक रुपमा हाइड्रोपावर कम्पनीले दिने प्रतिफल कम छ । तर, सेयर संख्या कम भएकाले लगानीकर्ता हाइड्रोपावरको
आकर्षित हुने गरेको देखिन्छ । वित्तीय अवस्था कमजोर भएका हाइड्रोपावर कम्पनीको पनि चलखेल गरी सेयर मूल्य बढाउने गरेका छन् । दीर्घकालीनभन्दा पनि अल्पकालीन लाभको लागि हाइड्रोपावरको सेयर किन्ने प्रवृत्ति देखिन्छ ।
चालु आवमा फाइनान्स कम्पनीहरूको दोस्रो धेरै सेयर किनबेच भएको छ । ८ महिनामा फाइनान्स कम्पनीहरूको १ खर्ब ५२ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ । अन्य क्षेत्रका तुलनामा फइनान्स कम्पनीको पनि सेयर संख्या न्यून हुने भएकाले सेयरमा निकै चलखेल हुने गरेको छ । यद्यपि, अधिकांश फाइनान्सको वित्तीय अवस्था भने नाजुक छ ।
सबैभन्दा ठूला कम्पनी रहेका वाणिज्य बैंकहरू कारोबारको आधारमा भने तेस्रो स्थानमा रहेको छन् । सेयर संख्या धेरै भएकाले चलखेल गर्न नसक्ने हुँदा बैंकहरूको सेयरमा खासै आकर्षण देखिँदैन् । पछिल्लो समय खस्कँदो वित्तीय अवस्थाले पनि बैंकको सेयरमा आकर्षण घटाएको छ ।
कारोबारका आधारमा विकास बैंक समूह चौथो स्थानमा रहेको छ । फागुनसम्म विकास बैंकहरूको १ खर्ब १६ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यसैगरी, लगानी समूहको १ खर्ब ३ अर्ब, लघुवित्तहरूको १ खर्ब २ अर्ब, अन्य समूहको ८७ अर्ब, जीवन बीमा कम्पनीको ८२ अर्ब, निर्जीवन बीमा कम्पनीको ५९ अर्ब, उत्पादनमूलक कम्पनीको ५९ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ ।
त्यस्तै, होटल समूहका कम्पनीको २८ अर्ब, प्रमोटर सेयर १८ अर्ब, व्यापार समूहका कम्पनीको ५ अर्ब, म्युचुअल फण्डको पौने ४ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । यस अवधिमा सबैभन्दा कम २ अर्ब ३० करोड रुपैयाँ बराबरको डिबेन्चर किनबेच भएको छ ।