सरकारको आम्दानीभन्दा खर्च १ खर्ब १० अर्ब धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउन-माघ)मा सरकारको आम्दानीभन्दा खर्च १ खर्ब १२ अर्ब रुपैयाँ बढी भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार नेपालले ७ महिनामा ७ खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये चालु खर्च ५ खर्ब २२ अर्ब ६३ करोड, पूँजीगत खर्च ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

यही अवधिमा सरकारको कुल राजस्व परिचालन भने ६ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ मात्रै छ । यो प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर हो । जसमध्ये कर राजस्व ५ खर्ब ६५ अर्ब ६४ करोड र गैर कर राजस्व रु ७७ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

सरी सरकारले उठाएको आन्तरिक राजस्वभन्दा खर्च बढी देखिए पनि गत माघ मसान्तसम्ममा सरकारका विभिन्न खातामा ३ खर्ब ५० अर्ब ७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यो राष्ट्र बैंकमा रहेका तीनवटै तहका सरकारको खातामा रहेको रकम हो । गत असार मसान्तसम्ममा सरकारी खातामा ८३ अर्ब ९९ करोड रुपैयाँ मौज्दात रहेको थियो ।

चालु आवको सात महिनामा प्रदेश सरकारको कूल खर्च ५१ अर्ब ९० करोड र स्रोत परिचालन १ खर्ब १ अर्ब ८९ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ८० अर्ब ९४ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २० अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो सात महिनामा विस्तृत मुद्राप्रदाय चार प्रतिशतभन्दा बढीले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने गत माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १०.१ प्रतिशतले बढेको छ ।

सवारीसाधनको विद्युतीय अभिलेख राख्न सुरू, अब ब्लूबुक बोक्नु नपर्ने Read Previous

सवारीसाधनको विद्युतीय अभिलेख राख्न सुरू, अब ब्लूबुक बोक्नु नपर्ने

यूएसएआईडीका ८० प्रतिशतभन्दा धेरै कार्यक्रम औपचारिक रूपमै बन्द Read Next

यूएसएआईडीका ८० प्रतिशतभन्दा धेरै कार्यक्रम औपचारिक रूपमै बन्द