चितवन । चितवनमा उत्पादित दूधको गुणस्तर, उत्पादन र बजारीकरणका लागि नयाँ परियोजना सुरु गरिएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जिल्लामा उत्पादित दूधको गुणस्तर र उत्पादन बढाउन ‘मिल्की वे’ परियोजना सञ्चालनका लागि काम अघि बढाएको हो ।
जिल्लामा उत्पादित दूधको बजारीकरण, गुणस्तर र उत्पादन वृद्धि गर्न किसानलाई सहजीकरण गर्ने उद्देश्यले सो परियोजना ल्याइएको हो ।
सङ्घका अध्यक्ष किशोर बगालेले यस परियोजनामार्फत दूध उत्पादनको लागत घटाउने, पशु चौपायाको स्वास्थ्यमा पर्ने समस्या समाधानका लागि सहयोग पुर्याउने, यन्त्र उपकरणको प्रयोग बढाउने, बजार व्यवस्थापनमा सहयोग गर्ने, स्वच्छ तथा सफा दूध उत्पादन र सङ्कलनमा सहयोग गर्ने रहेको बताए ।
उनका अनुसार दुग्ध क्षेत्रको प्रथामिकता पहिचानमा सहयोग गर्ने र नश्ल सुधारमा समेत काम गरिनेछ । परियोजना सञ्चालनमा आएसँगै जिल्लामा रहेका ११५ दुग्ध उत्पादक सहकारी संस्था र त्यसमा आबद्ध किसान प्रत्यक्ष रुपमा लाभान्वित बन्नेछन् ।
दूध उत्पादन, बजारीकरण र मूल्य नपाउने समस्याबाट कृषकलाई बचाउनका लागि यो परियोजना फलदायी बन्ने विश्वास गरिएको छ ।
परियोजनाका हेर्दै आएका भोला श्रेष्ठले नाफा नहुँदा, प्रतिस्पर्धी छैनन् भन्ने हुँदा किसान सन्तुष्ट बन्न नसकेको बताए । दूधमा गुणस्तर कायम गर्नका लागि वंशाणुगत गुणमा ख्याल गर्न आवश्यक रहेको उनको भनाइ थियो । जिल्लामा हाल दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये १ लाख ५० हजार लिटर दूध जिल्ला बाहिर बिक्री हुने गरेको छ ।
सङ्घले यस वर्ष अबका दुई महिना विभिन्न कार्यक्रम र सहयोगमार्फत किसान तथा सहकारीलाई सहयोग गर्दैछ । वार्षिक रुपमा सम्झौता गरेर स्थानीय तहसहितको सहकार्यमा हेफरसँग सहकार्य गरेर काम गर्नका लागि सङ्घसित सम्झौता भइसकेको छ ।