काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीको आदशे विरुद्ध उच्च अदालत बुटवल पुगेका छन् ।
सोमबार लामिछाने जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च तुलसीपुरस्थित उच्च अदालत बुटवलमा पुगेका हुन् ।
सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको मुद्दामा रूपन्देही जिल्ला अदालतले गत माघ १३ गते १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशको ४४ दिनपछि रवि आफू अन्यायमा परेको भन्दै उच्च अदालतमा पुगेका हुन् ।
यसअघि नै जिल्ला अदालतको आदेश विरुद्ध सरकारी वकिल कार्यालय पनि उच्च अदालत गएको थियो । रविलाई १ करोड रुपैयाँ धरौटी लिएर छोड्ने आदेश उपयुक्त नभएको र थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिल उच्च अदालत गएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ मा रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर पूरक मुद्दा दर्ता गरेको थियो । मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित ४२ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता भएको थियो ।
लामिछानेले सोमबार नै रूपन्देही जिल्ला अदालतको तारिख पनि बुझ्दै छन् ।