दिक्तेल-रेग्मीटार सडक निर्माण अन्तिम चरणमा

खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित रेग्मीटारसम्मको १४.५ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे-बुइपा-विजयखर्क-राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले जनाए । ‘दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । निर्माण हुन ५०० मिटरमात्र बाँकी छ । पूर्वी तराई जोड्ने यो सडक एक महिनाभित्र सम्पन्न गर्ने योजनामा छौँ,’ उनले भने, ‘दिक्तेल-रेग्मीटार सडक निर्माणमा नगरपालिकाको रू. ८५ लाख खर्च भइसकेको छ । यो सडकका लागि कोशी प्रदेश सरकारले यो आवका लागि रु ४० लाख बजेट उपलब्ध गराएको छ ।’

यो सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७९/८० मा विनियोजित रू. ४० लाख र २०८०/८१ मा विनियोजित रू. २० लाख खर्च भएको जनाइएको छ । नगरपालिका तथा प्रदेश सरकारको साझेदारीमा विनियोजित बजेटमार्फत दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए ।

नगरपालिकाले गौरवको आयोजनामा राखेर दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक निर्माणको कामलाई तीव्रता दिएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्माणाधीन सडकलाई विकल्पका रूपमा गत वर्ष हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन गरिएको थियो ।

दिक्तेल-रेग्मीटार सडकको मार्ग खोलिसकेपछि अर्को वर्षबाट सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिइने नगर उपप्रमुख विशन राईले बताए । ‘दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक सञ्चालन हुँदा करिब एक घण्टा छोटो हुन्छ । यो सडक सञ्चालन गर्ने तयारीमा छौँ,’ उनले भने, ‘दिक्तेल-महुरे-रेग्मीटार सडक घुमाउँरो छ । दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक निर्माण सम्पन्न भएपछि पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा उपयुक्त सडक बन्नेछ ।’

तत्कालीन जिल्ला विकास समिति खोटाङले आहालेबाट राजापानीको घर्तीभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल-गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभिरसम्म सिधा मार्ग (ट्रयाक) खोल्ने प्रयास गरिएको थियो । घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्रयाकलाई जोड्न नसकिएको हो ।

कालोपत्रको काम भइसकेको दिक्तेल-महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे-राजापानी-रेग्मीटार सडक २९ किलोमिटरगरी दिक्तेल-रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । निर्माणाधीन दिक्तेल-खानीडाँडा-आहाले-रेग्मीटार सडक दिक्तेल-महुरे-राजापानी-रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।

दिखुवाखोला पारिबाट थ्रीस्टार हाइड्रोपावर कम्पनीले राजापानीको पुरानो गाउँसम्म सडक निर्माण गरिदिएको छ । उक्त निर्माणाधीन दिक्तेल-खानीडाँडा-रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानी मूल्यमा प्रतिकेजी २ देखि ५ रुपैयाँसम्म घट्ने अनुमान गरिएको स्थानीय व्यवसायीले बताएका छन् ।

यता, दिक्तेल-खानीडाँडा-आहाले सडक भर्खरै कालोपत्र सम्पन्न गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार रुपैयाँ लगानीमा १०.९७४ किलोमिटर लामो सो सडक कालोपत्र गरिएको हो । रासस

निर्माणाधीन राहुघाट जलविद्युत्को बाँध पहिरोको जोखिममा Read Previous

निर्माणाधीन राहुघाट जलविद्युत्को बाँध पहिरोको जोखिममा

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन Read Next

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन