काठमाडौं । अब एउटा खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार अब प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविटर/क्रेडिट/प्रिपेड) को एकभन्दा बढी कार्ड जारी गर्न पाइने छैन । तर, डोमेस्टिक कार्ड स्किम अन्तर्गतका कार्डहरु जारी गर्दा यो व्यवस्थाले बाधा नपुर्याउने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, ग्राहकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली सञ्चालन वा कारोबार गर्दा ‘भीपीएन’ प्रयोग गरे नगरेको पहिचान गरी आधिकारिक भीपीएन प्रयोग नभएमा एपमा लगइन गर्न नमिल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
यस्तै, राष्ट्र बैंकले अनस्ट्रक्चरेड सप्लिमेन्ट्री सर्भिस डाटा वा असंरचित अतिरिक्त सेवा डाटा (यूएसएसडी) प्रणालीमार्फत हुने भुक्तानी कारोबारको सीमा दैनिक १० हजार रुपैयाँ र प्रतिकारोबार ५ हजार हुनुपर्ने व्यवस्था गरेको छ ।