साढे ३ अर्बको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र बिक्री खुला

काठमाडौं । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ अर्ब रुपैयाँको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै ‘नागरिक बचतपत्र-२०८६’ र ‘वैदेशिक रोजगार बचतपत्र-२०८६’ निष्कासनसम्बन्धी जानकारी दिएको हो । पाँच वर्ष अवधिका नागरिक बचतपत्रमा सात प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे ८ प्रतिशत ब्याज उपलब्ध गराइने कार्यालयले जनाएको छ । आज (फागुन १५ गते)देखि आगामी चैत १५ गतेसम्म बचतपत्रका बिक्री खुला रहने र उक्त अवधि अगावै निष्कासित रकम बराबरको आवदेन परेमा बन्द गरिने जनाइएको छ ।

यी बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुनेछ । घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने कार्यालयले जनाएको छ । पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन् ।

बचतपत्रमा गरिने लगानीबारे सर्वसाधारणलाई जानकारी नहुँदा निष्कासन गरिएको रकमभन्दा न्यून आवेदन पर्ने गरेका छन् । यसअघि कार्यालयले गत मङ्सिर १२ गतेदेखि निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्र, २०८६ (क) मा करिब १२ प्रतिशत बराबर मात्रै बचतपत्र खरिदका लागि आवेदन परेको थियो ।

सहज र सुरक्षित तबरले आकर्षक प्रतिफल दिने सरकारी उपकरण बचतपत्रको ब्याजदर अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिइरहेको ब्याजदरभन्दा २ देखि साढे २ प्रतिशत बिन्दुले बढी हो । यसमा सरकारले मूलधनको सुनिश्चत गरेको हुँदा सुरक्षित लगानी मानिन्छ ।

साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधैँ जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डीओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यी बचतपत्रको सहजै कारोबार गर्न सकिन्छ ।

म्याद गुज्रेको १ वर्षमा पनि काम नसकेपछि धुलिखेल-खावा सडकको ठेक्का रद्द Read Previous

म्याद गुज्रेको १ वर्षमा पनि काम नसकेपछि धुलिखेल-खावा सडकको ठेक्का रद्द

ओलोचुङगोलामा बुनेको गलैँचाको माग उच्च Read Next

ओलोचुङगोलामा बुनेको गलैँचाको माग उच्च