
काठमाडौं । विगत दुई साता यता पुनर्बीमा (रि-इन्स्योरेन्स) कम्पनीहरूको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । नेप्सेमा सूचीकृत नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्स दुवै कम्पनी लगानीकर्ताको रोजाइमा परिरहेका हुन् ।
दुई साता यता यी दुई कम्पनी दैनिक सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएका छन् । दैनिक कारोबारको १५-२० प्रतिशत हिस्सा यी कम्पनीले ओगट्दै आएका छन् ।
किनबेच बढेसँगै यी कम्पनीको सेयर मूल्यमा पनि उच्च वृद्धि भएको छ । ७ कारोबार दिनमै नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य ३३ प्रतिशत र हिमालयन रिको २१.३० प्रतिशतले बढेको छ ।
गत फागुन ४ गते प्रतिकित्ता ९८० रुपैयाँ रहेको नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँ बढेर हाल १३०४ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिकित्ता ८४५ रुपैयाँ रहेको हिमालयन रिको सेयर मूल्य प्रतिकित्ता १८० रुपैयाँ बढेर १०२५ रुपैयाँ पुगेको छ । यी दुई कम्पनीको मूल्य वृद्धिकै कारण अन्य सेक्टरको परिसूचक अल टाइम हाइ २४५१ अंकमा पुगेको छ ।
पछिल्लो समय लो क्याप कम्पनीको मात्रै सेयर मूल्य उचालिँदै आएको थियो । आपूर्ति धेरै हुने हुँदा हाइ क्याप कम्पनीको मूल्य खासै बढ्न सकेको छैन । तर, दुई साता यता भने यी दुई कम्पनीको मूल्य लगातार आकाशिएको छ ।
आखिर किन बढिरहेको छ त पुनर्बीमा कम्पनीमा आकर्षण ? यसको मुख्य कारण चुक्ता पूँजी वृद्धि रहेको लगानीकर्ताहरू बताउँछन् । नेपाल बीमा प्राधिकरणले पुनर्बीम कम्पनीहरूको चुक्ता पूँजी २० अर्ब पुर्याउन निर्देशन दिएको छ । सोही अनुसार दुवै कम्पनीले हकप्रद र बोनस सेयर मार्फत पूँजी वृद्धि गर्ने योजना प्राधिकरणमा पेस गरेका छन् ।
दुवै कम्पनीले बोनस बाँड्ने र हकप्रद पनि ल्याउने भएकाले लगानीकर्ता यिनको सेयरमा आकर्षित भएका हुन् । विश्व सेयर बजारमा हकप्रद सेयर जारी गरी पूँजी वृद्धि गर्नुलाई राम्रो मानिँदैन । तर, नेपाली सेयर बजारमा भने हकप्रद सेयर भनेपछि मरिहत्ते गर्ने चलन छ । जस्तोसुकै वित्तीय अवस्था भएको कम्पनीको मूल्य पनि हकप्रद ल्याउने घोषणा गरेपछि उचालिने गरेका कयौं दृष्टान्त छ । अहिले त्यही हकप्रदको आधारमा ठूला लगानीकर्ताले समेत पुनर्बीमा कम्पनीहरूको सेयर बटुलिरहेका छन् । जसले मूल्य बढिरहेको हो ।
हिमालयन रिले यसअघि नै आफ्नो चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरिसकेको छ । नेपाल पुनर्बीमाले भने हालसम्म कति प्रतिशत हकप्रद ल्याउने भन्ने घोषणा गरेको छैन ।
हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । यो कम्पनीले थप ६ अर्ब ५८ करोड रुपैयाँ पूँजी थप्नुपर्ने छ । त्यस्तै, हाल १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन रिले ९ अर्ब ६० करोड रुपैयाँ पूँजी थप्नुपर्नेछ ।
कस्तो छ वित्तीय अवस्था ?
हिमालयन रिले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ भने नेपाल पुनर्बीमाले हालसम्म गरेको छैन ।
चालु आवको पुस मसान्तसम्म हिमालयन रिले ६१ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १ करोड ४२ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म कम्पनीले ६० करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १४.९० प्रतिशतले बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी ३६.१३ प्रतिशतले बढेर ६४ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीले खर्च २५.९१ प्रतिशतले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिका कम्पनीको खर्च १ अर्ब ६० करोड रुपैयाँ थियो ।
हाल १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैयाँ संचिति छ । कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३८ लाख र रिटेन्ड अर्निङमा १ अर्ब ३४ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर ११.८६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६१.५७ रुपैयाँ छ ।
त्यस्तै, गत आव २०८०/८१ को चौथो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनीले ५१ करोड ५८ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आव २०७९/८० को तुलनामा हिमालयनको नाफा ८ करोड ४ लाख रुपैयाँले घटेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ८.५७ प्रतिशतले घटेर ५ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको थियो । त्यस्तै, कम्पनीको कुल आम्दानी पनि ९.३० प्रतिशतले घटेर ६ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको थियो ।
१३ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ९२ करोड रुपैयाँ संचिति छ । कम्पनीको महाविपत्ति कोषमा २७ करोड ६३ लाख र रिटेन्ड अर्निङमा १ अर्ब ८ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ ।