क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माण बर्खा अघि नै सकिएला ?

काठमाडौं । गत असोज महिनामा आएको बाढी–पहिरोको कारण क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि सरकाले ८ अर्ब ५० करोड रुपैंयाँ बजेट सुनिश्चित गरेको छ । बाढी–पहिरोबाट क्षति भएको बीपी राजमार्ग पुनर्निर्माणका लागि बजेटको स्रोत सहमति भएको हो ।

क्षतिग्रस्त राजमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत अवलोकन गरेपछि सडक मर्मतको लागि बजेट सुनिश्चित गरिएको हो । सो क्रममा मन्त्री दाहालले वर्षाको बेलामा पनि सडक अवरुद्ध नहुने गरी काम गर्न निर्देशन समेत दिएका थिए ।

सो सडक निर्माणको लागि ९ अर्ब ६६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बीपी राजमार्गको भक्तपुर नेपालथोक खण्डलाई सात अर्ब ५० करोड र खुर्कोट खण्डलाई एक अर्ब रुपैयाँ सुनिश्चित गरिएको छ । दुवै सडक खण्ड निर्माणका लागि चालु वर्षमा एक अर्ब ७० करोड रुपैयाँ विनियोजन हुने भएको छ ।

अस्थायी सडक पुनर्निर्माणका लागि बिपी राजमार्गको दुवै खण्डमा २१ करोड २५ लाख विनियोजन हुने भएको छ । बाढीले क्षति पुर्‍याएको रोशीखोला क्षेत्रमा अहिले खोला किनारबाट अस्थायी सडक बनाइएको छ । बजेट प्राप्त भएकोले सडक निर्माणको काम तुरुन्त अघि बढ्ने सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए । बीपी मार्गको रोशीखोला खण्डमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । अहिले काठमाडौंबाट रामेछाप, सिन्धुली लगायत पूर्व आउने यात्रीहरूले खोला बगरको कच्ची सडकमा निक्कै कष्टकर र जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

अहिले क्षतिग्रस्त बीपी राजमार्ग बर्खा अघि नै बन्छ कि बन्दैन भन्ने चिन्ता प्रकट हुन थालेको छ । सांसदहरुले सदनबाट समेत बीपी राजमार्ग पुनर्निर्माणको विषय उठाउँदै आएका छन् । अहिलेकै अवस्था रहे बर्खाको समयमा बीपी राजमार्गमा गाडी चल्न सक्ने अवस्था नहुने भन्दै चाँडै पुनर्निर्माणको काम गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।

३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्यसहित योजनाः ५ वटा निर्माण सम्पन्न Read Previous

३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्यसहित योजनाः ५ वटा निर्माण सम्पन्न

अनुमति लिएर मात्र विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणको निर्देशन Read Next

अनुमति लिएर मात्र विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणको निर्देशन