किमाथांका (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई ८८ करोड रुपैयाँ बढी मुआब्जा वितरण गरिएको छ ।
उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । आयोजना प्रभावित दुवै पालिकाका स्थानीयलाई मुआब्जाबापत रकम वितरण गरिएको हो । आयोजना प्रभावित क्षेत्रका लागि ८८ करोड ९ लाख ७८ हजार २०० रुपैयाँ मुआब्जा रकम वितरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार निर्माणस्थल क्षेत्रमा पर्ने ६५६ परिवारले मुआब्जा पाउनेछन् । प्रभावितका लागि प्रशासनले १ अर्ब ४० करोड रुपैयाँमुआब्जा बापतको रकम वितरण गर्ने जनाउँदै उनले उक्त रकम आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरूले पाउने उल्लेख गरे ।
जिल्ला प्रशासन कार्यालयका अनुसार यस क्षेत्रमा ५ लाखदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्याङ्कन गरिएको छ । आयोजनाका लागि १८४ हेक्टर जग्गा आवश्यक पर्ने बताउँदै प्रजिअ खड्काले निजी जग्गा ६५.९६ हेक्टर रहेको जानकारी दिए । उनका अनुसार भारतीय सतलज जलविद्युत् निगम लिमिटेडले तल्लो अरुण निर्माणको जिम्मा लिएको छ ।
मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेँसीमा करिब १७.४ किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाबाट नेपालले २१.९ प्रतिशत (१९७.१ मेगावाट) विद्युत् निःशुल्क पाउनेछभने बाँकी विद्युत् भारत निर्यात हुनेछ । लगानी बोर्ड र भारतीय कम्पनी बीच भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण हुने आयोजनाले व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि चालु अवस्थामा सरकारले पाउनेछ । आयोजनाको निर्माण अवधि ५ वर्ष कायम गरिएको छ ।
मुआब्जा वितरणबाट ५ करोड राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालयमा मुआब्जा वितरणबाट ५ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । तीन महिनाको अवधिमा मुआब्जा वितरणबाट ५ करोड १३ लाख ६ हजार ३९ रुपैयाँ राजस्व सङ्कलन भएको प्रजिअ खड्काले जानकारी दिए।
उनका अनुसार निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा वितरणबापत रु चार करोड ३७ लाख ५७ हजार ३९४ राजस्व सङ्कलन भएको छ । ९०० मेगावटको अरुण तेस्रो प्रवेशमार्गको मुआब्जा वितरणबाट ७५ लाख ४८ हजार ६४५ रुपैयाँ राजस्व सङकलन भएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।