१४५ गुणासम्म बढ्यो हाइड्रोपावरको नाफा, २७ वटा भने अझै घाटामा (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हाइड्रोपावर कम्पनीहरूको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा हाइड्रोपावरहरूको नाफा औसतमा १४९.७८ प्रतिशतले बढेको हो ।

नेप्सेमा सूचीकृत ९१ वटा हाइड्रोपावर मध्ये हालसम्म ८९ वटा (अपर लोहोरे र रिभर फल्स पावर) बाहेकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा ८९ वटा हाइड्रोपावरले चालु आवको ६ महिनामा कुल ३ अर्ब २५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा १ अर्ब ९५ करोड २५ लाख रुपैयाँ धेरै हो । गत वर्ष दोस्रो त्रैमाससम्म हाइड्रोपावरले कुल १ अर्ब ३० करोड ३५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

समीक्षा अवधिमा अधिकांश हाइड्रोपावरको नाफामा सुधार आएको छ । ६६ वटा हाइड्रोपावरको नाफामा सुधार आएको आएको छ भने २३ वटाको घटेको छ । गत वर्ष घाटामा रहेको १८ हाइड्रोपावर यस वर्ष नाफामा गएका छन् । त्यस्तै, डेढ दर्जन हाइड्रोपावरको नोक्सानी घटेको छ ।

समीक्षा अवधिमा विद्युत् बिक्री आम्दानी बढ्दा र ब्याज खर्च घट्दा हाइड्रोपावरको नाफामा उल्लेख्य सुधार आएको हो । निक्षेपको ब्याजदर घट्दा हाइड्रोपावरहरूको वित्तीय लगात घट्न गई नाफामा सुधार आएको हो । २०८० कात्तिकदेखि बैंकहरूले लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याज घट्दा बेसरेट सस्तिन जाँदा कर्जाको ब्याजदर समेत घटेको हो । जसको फाइदा हाइड्रोपावरहरूले पाएका छन् ।

समीक्षा अवधिमा २७ वटा हाइड्रोपावर घाटामा छन् भने १७ वटाको नाफा घटेको छ । हाल निर्माणकै चरणमा रहेका र बाढीपहिरोको कारण आयोजना भने बन्द भएका हाइड्रोपावरहरू घाटामा गएका हुन् ।

धेरै कमाउने साहस ऊर्जा

समीक्षा अवधिमा ८९ वटा हाइड्रोपावर मध्ये सबैभन्दा धेरै नाफा साहस ऊर्जाले कमाएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो आयोजना समेत रहेको साहसले ६ महिनामा ७२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको दोस्रो त्रैमासको तुलनामा साहसको नाफा ५५.८४ प्रतिशतले बढेको छ ।

माउन्टेन इनर्जी ५१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो धेरै नाफा कमाउने हाइड्रोपावर बनेको छ । त्यस्तै, पुससम्म चिलिमे हाइड्रोपावरले ३८ करोड २८ लाख, ग्रीन भेन्चर्सले ३७ करोड ४१ लाख, अपि पावरले ३१ करोड १६ लाख, सानिमा मिडल तमोरले २७ करोड १६ लाख, सानिमा माइ हाइड्रोपावरले २६ करोड ९१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरी, अरुण भ्यालीले १९ करोड ४२ लाख, बुटवल पावरले १९ करोड ३८ लाख, माण्डू हाइड्रोपावरले १६ करोड २० लाख, अपर सोलु हाइड्रोले १४ कराड ६१ लाख, सिंगटी हाइड्रोपावरले १४ करोड २८ लाख, सुपर मादी हाइड्रोपावर १२ करोड १७ लाख, युनिभर्सल पावरले ११ करोड ३७ लाख र श्वेत गंगा हाइड्रोपावरले १० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ ।

समीक्षा अवधिमा २ हाइड्रोपावरको नाफा ९ करोड, ३ वटाको ७ करोड, एउटाको ८ करोड, ३ वटाको ६ करोड, ३ वटाको ५ करोड र ४ वटाको ४ करोड रुपैयाँ छ । त्यस्तै, ६ महिनामा ६ हाइड्रोपावरले ३ करोड, ५ वटाले २ करोड, ७ वटाले १ करोड बढी र ११ वटाले १ करोडभन्दा कम नाफा कमाएका छन् ।

२७ वटा हाइड्रोपावर घाटामा

समीक्षा अवधिमा २७ वटा अर्थात् २९ प्रतिशत हाइड्रोपावर घाटामा रहेका छन् । गत वर्ष नाफामा रहेका ४ वटा हाइड्रो समेत यस वर्ष घाटामा गएका छन् । घाटामा रहेको अधिकांश हाइड्रोपावर निर्माणको चरणमा छन् । केही बाढीले क्षतिग्रस्त भई बन्द हुँदा घाटामा गएका हुन् ।

समीक्षा अवधिमा देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको अपर तामाकोशी हाइड्रोपावर सबैभन्दा धेरै ८२ करोड ११ लाख रुपैयाँ घाटामा छ । त्यस्तै, मेन्छियाम हाइड्रोपावर ३८ करोड ६७ लाख, माउन्टेन हाइड्रो नेपाल ३८ करोड १६ लाख, बलेफी हाइड्रो १८ करोड, साञ्जेन जलविद्युत् १३ करोड ५१ लाख रुपैयाँ घाटामा छ ।

त्यस्तै, पाँचथर पावर पौने ८ करोड, शिवश्री हाइड्रोपावर ६ करोड, पिपुल्स हाइड्रोपवार साढे ५ करोड, हिमाल दोलखा साढे ३ करोड, रसुवागढी, मोदी इनर्जी र लिबर्टी इनर्जी समान ३३ करोड बढी नोक्सानीमा छन् ।

एशियन, ग्रीनलाइफ, अपर स्याङ्गे, खानीखोला, छ्याङ्दी र मध्य भोटेकोशी १ करोड बढी नोक्सानीमा छन् । दोल्ती पावर, घलेम्दी, राप्ति हाइड्रो, इङ्वा, भूगोल इनर्जी, जोशी, त्रिशूली जलविद्युत्, दोर्दी र न्यादी हाइड्रोपावरको नोक्सानी १ करोड रुपैयाँभन्दा कम छ ।

 

नेपाल र भारत बीच ४०० केभी क्षमताको थप प्रसारण लाइन निर्माण गर्ने सहमति Read Previous

नेपाल र भारत बीच ४०० केभी क्षमताको थप प्रसारण लाइन निर्माण गर्ने सहमति

भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत, पारस्परिक कर लगाउने ट्रम्पको घोषणा Read Next

भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत, पारस्परिक कर लगाउने ट्रम्पको घोषणा