खर्च गर्न नसक्ने भएपछि अर्थमन्त्रीले १ खर्ब ६७ अर्ब घटाए बजेटको आकार

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान घटाएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट समीक्षा प्रस्तुत गर्दैबजेटको आकार १ खर्ब ६७ अर्ब ५७ करोड रुपैयाँ घटाएका हुन् ।

ययअघि पूर्व अर्थमन्त्री वर्षमान पुनले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट घटाएर पौडेलले १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँमा झारेका हुन् ।  यो रकम सुरू विनियोजनको ९०.९९ प्रतिशत हो ।

चालुतर्फ रू. १० खर्ब २९ अर्ब ३० करोड अर्थात् विनियोजनको ९०.२४ प्रतिशत, पुँजीगततर्फ रू. दुई खर्ब ९९ अर्ब ५० करोड ९ लाख अर्थात विनियोजनको ८५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू. तीन खर्ब ६३ अर्ब ९३ करोड २६ लाख अर्थात् विनियोजनको ९९.०९ प्रतिशत खर्च हुने अनुमान छ ।

चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) रू. १४ खर्ब ७५ अर्ब २६ करोड ८२ लाख, वैदेशिक अनुदानतर्फ रू. ३६ अर्ब ६२ करोड ८६ लाख र वैदेशिक ऋणतर्फ रू. एक खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान रहेको छ ।

अर्थमन्त्री पौडेलका अनुसार अर्धवार्षिक समीक्षा अवधिमा प्रदेशलाई रू. ३४ अर्ब ८९ करोड २२ लाख र स्थानीय तहलाई रू.  एक खर्ब ५० अर्ब २६ करोड ८ लाख वित्तीय हस्तान्तरण भएको छ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटमध्ये समीक्षा अवधिमा प्रदेशतर्फ ३६. १७ प्रतिशत र स्थानीय तहमा ४८.१० प्रतिशत हस्तान्तरण भएको छ । समीक्षा अवधिमा प्रदेश र स्थानीय तहमा गरी कूल अनुदानको ४५.२८ प्रतिशत हस्तान्तरण भएको छ ।

अर्थ मन्त्रालयकाअनुसार यो अवधिमा मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट सङ्कलन हुने अन्तःशुल्क रकममध्ये प्रदेश र स्थानीय तहलाई सूत्र अनुसार ( १५ प्रतिशतले हुने) रू. ३२ अर्ब २७ करोड ९० लाखका दरले जम्मा रू. ६४ अर्ब ५५ करोड ८० लाख बाँडफाँट गरि पठाइएको छ । जुन गत वर्षको तुलनामा १४ दशमलव १७ प्रतिशतले बढी हो ।

अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा गर्नुपर्ने सुधार पनि सरकारले औँल्याएको छ । जसअन्तर्गत सबै सरकारी कार्यालय, नियामक निकाय र सार्वजनिक संस्थानमा नयाँ संगठन संरचना र दरबन्दी सिर्जना नगर्ने, खर्चको मापदण्ड बनाई चालु खर्चमा मितव्ययिता कायम गर्नेलगायत विषय रहेका छन् ।

स्रोतमा परेको चापलाई दृष्टिगत गरी अनिवार्य दायित्वबाहेक चालु खर्चतर्फ विनियोजित नेपाल सरकारको स्रोततर्फको रकममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय पनि सरकारले गरेको छ ।

जग्गा प्राप्ति र मुआब्जा वितरण, वन क्षेत्र उपयोगको स्वीकृति लगायतका तयारी पूरा गरेर मात्र पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजना कार्यान्वयनका लागि खरिद प्रक्रियामा लैजाने, राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा स्रोतको अभाव हुन नदिने व्यवस्था मिलाउनेलगायत विषय रहेका छन् ।

रोकिएन डलरको मूल्य वृद्धि, फेरि बनायो नयाँ रेकर्ड Read Previous

रोकिएन डलरको मूल्य वृद्धि, फेरि बनायो नयाँ रेकर्ड

यी १० कारण अपेक्षित रूपमा हुन सकेन बजेट खर्च Read Next

यी १० कारण अपेक्षित रूपमा हुन सकेन बजेट खर्च