पूर्वपश्चिम रेलमार्गकाे मुआब्जाका लागि स्रोत व्यवस्थापन, काम अघि बढाउने तयारी

सांकेतिक तस्वीर

झापा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी परियोजनाबाट सरकार पछाडि नहट्ने प्रतिबद्धता जनाएका छन् ।

विर्तामोडमा आज प्रेस चौतारी झापाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत व्यस्थापन गरेर चरणचरणमा मुआब्जा वितरण गरी सरकारले रेलमार्गलाई अगाडि बढाउने तयारी गरिरहेको बताए। उनका अनुसार परियोजनाबाट प्रभावितलाई मुआब्जाका लागि स्रोत व्यवस्थापन भइरहेको छ ।

‘पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर परियोजनाबाट सरकार पछाडि हट्दैन,’ मन्त्री दाहालले भने, ‘स्रोत सुनिश्चितताका लागि अर्थमन्त्रालयसँग छलफल भइसकेको छ ।’

उनले सरकारको ‘ड्रिम प्रोजेक्ट’का रूपमा विद्युतीय रेलमार्ग रहेको जनाउँदै यसबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको पत्रकारहरूलाई जानकारी दिए ।

सरकारले उक्त परियोजनाका लागि झापा, मोरङ र सुनसरीमा ५ हजार कित्ताभन्दा बढी जग्गा विसं २०७७ जेठ २४ र २७ गते अधिग्रहण गरेको थियो । जग्गाधनीहरूले अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने भए उचित क्षतिपूर्तिसहित फुकुवा गरिदिन सरकारसँग पटकपटक माग गरेका छन् ।

रेलमार्गका लागि सरकारले झापाको २ हजार ४५७ कित्ता, मोरङको १ हजार ६३८ कित्ता र सुनसरीको १ हजार ३२९ कित्ता जग्गा सम्बन्धित जिल्लाको मालपोत कार्यालयमार्फत रोक्का राखेको छ ।

मन्त्री दाहालले झापाको भौतिक पूर्वाधार निर्माण धमाधम भइरहेको भन्दै निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । उनले हुलाकी राजमार्गमा निर्माण रोकिएको कनकाइ पुलको कामसमेत सञ्चालन भइसकेको बताउँदै भने, ‘सरकारले काममा ढिलाइ गरेको ठेकेदार कम्पनीको ठेक्का रद्द गर्ने तयारी गरेपछि निर्माण कम्पनीले काम थालेको छ, अब कामले गति लिने विश्वास छ ।’

५ जिल्ला छिचोल्दै तराईसँग जोडियो ढोरपाटन Read Previous

५ जिल्ला छिचोल्दै तराईसँग जोडियो ढोरपाटन

तनहुँबाट साढे ४२ करोडको सुन्तला बिक्री Read Next

तनहुँबाट साढे ४२ करोडको सुन्तला बिक्री