साढे १५ करोड राजश्व छली गर्ने ६ जना विरुद्ध मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले १५ करोड ५१ लाख रुपैयाँ बिगो बराबरको राजश्व छली गरेको आरोपमा छ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

 

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौँको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईंसमेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साहसहित दुई जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाइएको हो ।

 

आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरेको र साहले भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोप छ । उनीहरुविरुद्ध १५ करोड ५१ लाख बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी गरिएको मैनालीले बताए ।

 

अग्रिम इन्टरप्राइजेज अर्थात् अग्रिम निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत गरी १२ करोड ८७ लाख बिगो बराबरको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ । यस्तै सन्दीप ट्रेडिङमार्फत प्रमिलाकुमारी साहसहित दुई जनाले रु दुई करोड ६४ लाख बिगो बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।

चिनियाँ नागरिकलाई जनही १ हजार जरिवाना Read Previous

चिनियाँ नागरिकलाई जनही १ हजार जरिवाना

मुस्ताङका कृषक स्याउखेतीमा आकर्षित, २७ हजार बिरुवा माग Read Next

मुस्ताङका कृषक स्याउखेतीमा आकर्षित, २७ हजार बिरुवा माग