ट्रम्पले रोके वैदेशिक अनुदान, नेपाल पनि प्रभावित हुनसक्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले दिने सबै वैदेशिक अनुदान तत्कालका लागि रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले सत्ता सम्हालेको एक नबित्दै वैदेशिक सहायता रोकेका हुन् । राष्ट्रपति ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

९० दिनको समीक्षापछि सहायता जारी राख्ने वा बन्द नै गर्ने भन्नेबारे निर्णय हुनेछ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हाल कायम वैदेशिक सहायता र नयाँ अनुदान वितरण कार्य स्थगन गर्न मातहत निकायलाई निर्देशन दिएका हुन् ।

‘प्रस्तावित नयाँ सहायता वा हाल कायम अनुदानको थप विस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ अनुदान वा विद्यमान अनुदान विस्तारका लागि कुनै पनि नयाँ कोष बाध्य हुनेछैन,’ मन्त्रालय मातहतका कर्मचारीलाई दिइएको निर्देशनमा भनिएको छ । यसबाट विकास सहायतादेखि सैन्य अनुदानसम्म प्रभावित हुने भएको छ ।

आपत्कालीन खाद्य सहायताका साथै इजरायल र इजिप्टको सैन्य कोषका निम्ति सहयोग भने रोक लगाइएको छैन । अनुदानमा रोक लगाएसँगै विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित सयौं प्रोजेक्टहरू बन्द हुनसक्ने छ । अमेरिकाले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता दिएको थियो ।

ट्रम्पको यो आदेशले रुस-युक्रेन युद्धमा समेत प्रभाव पर्ने देखिएको छ । ‘फरेन एसिस्टेन्स डट जीओभी’ का अनुसार सन् २०२३ मा अमेरिकाबाट सबैभन्दा बढी अनुदान युक्रेन पाएको थियो । युक्रेनले १७ अर्ब १९ करोड ३७ लाख १० हजार ४०३ अमेरिकी डलर बराबरको अनुदान पाएको थियो ।

वैदेशिक अनुदानमा रोक लगाएसँगै त्यसको प्रभाव नेपाललाई पनि पर्नसक्ने जानकारहरू बताउँछन् । अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । ती क्षेत्रमा अधिकांश अमेरिकी अनुदान यूएसएआईडीमार्फत् काम गर्दै आएको छ ।

बोलकबोल मार्फत ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक Read Previous

बोलकबोल मार्फत ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

राजस्व सङ्कलनमा चाप छ, चुस्त रूपमा काम गरौँ : अर्थमन्त्री पौडैल Read Next

राजस्व सङ्कलनमा चाप छ, चुस्त रूपमा काम गरौँ : अर्थमन्त्री पौडैल