
काठमडाौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडकको भर्चुअल रुपमा शिलान्यास गरेका हुन् ।
सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक स्तरोन्नति गर्दैछ ।
बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवन निर्माण सेवाले उक्त सडक निर्माणको ठेक्का पाएका छन् । पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको हो ।
आयोजनाका प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले यो सडक स्तरोन्नति गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुने गरी निर्माण गरिने बताइन् ।
आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतिका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कङ्क्रिट बनाउने ठाउँ बनाइसकेको छ ।
निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलगअलग ठेक्का भएकाले काम पनि दुईतर्फबाट एकैपटक हुनेछ । ५० किलोमिटर सडकअन्तर्गत सालझण्डी-पिपरा र वनगाई-गोरुसिङ्गेसम्म करिब २० किलोमिटर जङ्गल क्षेत्र छ । यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।
पूर्व-पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको ६ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिइन् ।
यो सडक सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकहरूमा अन्डर पास र ओभर पास हुनेछन् ।