काठमाडौं । प्रहरीले आन्तरिक राजस्व विभागको सफ्टवेयर ‘एकीकृत कर प्रणाली’ ह्याक गरी भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने कर रकम बढाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डेलाई चितवनबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ल्यापटप, सीपीयू, वाइफाइ राउटर, डीभीआर र मोबाइल समेत बरामद भएको छ ।
उनीहरूले आन्तरिक राजस्व विभागको सफ्टवेयरमा अनाधिकृत प्रवेश गरी भाटभटेनीको युजर आइडी र पासवर्डमा पहुँच र्पुयाई करको दर हेरफेर गरेको पाइएको प्रहरीले जनाएको छ ।
सिस्टम ह्याक गरेर उनीहरूले भाटभटेनीले सरकारलाई तिर्नुपर्ने ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँ करलाई बढाएर १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बढी देखाएको खुलेको छ ।
करको दर हेरफेर गरेको भन्दै विभागले गत पुस २५ गते सीआइबीलाई अनुसन्धान गर्न पत्र लेखेको थियो । सोही पत्रका आधारमा अनुसन्धान गरी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू विरुद्ध विद्युतीय कारोबारको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।