काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताएका छन् ।
अर्थ मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरूले नै देखाएको बताए ।
‘हामीले आर्थिक सूचकहरूमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ,’ उनले भने ।
वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरू सुधार हुँदै गएको अर्थमन्त्री पौडेलले बताए । ‘आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए । ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ । ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिसामा डोर्याएका छौँ,’ उनले भने ।
सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरे लगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उनको भनाइ थियो ।
उनले चालु आवको ६ महिनामा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको जानकारी दिए । गत आव सोही अवधिमा निर्यात ७।२ प्रशितले घटेको थियो । अर्थ मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।
त्यसैगरी, चालु आवको ६ महिनामा आयात ७.१ प्रतिशतले बढेर ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । गत आव पहिलो ६ महिनामा भने ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो ।
चालु आवको ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा भने ८.२ प्रतिशतमात्र बढेको थियो ।
त्यसैगरी पहिलो ६ महिनामा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ । गत आव सोही अवधिमा १.७ प्रतिशतले घटेको थियो । अर्थ मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ ।
त्यस्तै कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पूँजीगत खर्चमध्ये ६ महिनामा ५६ अर्ब ९४ करोड खर्च भएको छ ।
पुससम्म बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन २ खर्ब ११ अर्बले बढेको छ । यो गत वर्षकोभन्दा धेरै हो । त्यस्तै, कर्जा प्रवाह पनि ४.४१ प्रतिशतले बढेको छ ।