पूँजीगत खर्चको अवस्था दयनीय, ऋण तिर्न भने डेढ खर्ब बढी खर्च

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पूँजीगत खर्चको अवस्था दयनीय रहेको छ । सरकारले विकास आयोजनाहरुको कामको गति बढाउन नसक्दा विकास बजेट खर्च हुनै नसकेको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्म ५६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ पूँजीगत खर्च भएको छ । यो वार्षिक लक्ष्यको १६.१६ प्रतिशत मात्रै हो । सरकारले चालु आवमा पूँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले बजेट मार्फत विकास खर्चलाई तीव्रता दिने घोषणा गरे पनि कमजोर खर्च संरचना, ठेकेदारको लापरबाही, खरिद प्रक्रियामा हुने ढिलाइ लगायत कारणले पैसा खर्च हुन सेको छैन । जसकारण विकासका आयोजनामा गरिने लगानीको लागत वृद्धि र कमजोर प्रतिफल प्राप्त हुने गरेको छ ।

चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखाका अनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३६ प्रतिशत खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा ६ खर्ब ६७ अर्ब ६० करोड १९ लाख रुपैयाँ बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५.८९ प्रतिशत हो ।

चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएकोमा हालसम्म ३९.६३ प्रतिशत अर्थात् ४ खर्ब ५२ अर्ब रुपैयाँ खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३.२ प्रतिशत छ । यो शीर्षकमा ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकोमा हालसम्म १ खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । गत पुस मसान्तसम्ममा ५ खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ३९.०६ प्रतिशत हो । कर राजश्वतर्फ ३८.११ प्रतिशत अर्थात् ४ खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ ५१.९७ प्रतिशत अर्थात् ७० अर्ब २० करोड ८२ लाख रुपैयाँ सङ्कलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म ७ अर्ब ३७ करोड ६ लाख रुपैयाँ बराबर वैदेशिक सहायता प्राप्त भएको छ ।

महानगरद्धारा सडकमै सवारीको प्रदूषण जाँच, ३०% मापदण्ड विपरीत संचालन Read Previous

महानगरद्धारा सडकमै सवारीको प्रदूषण जाँच, ३०% मापदण्ड विपरीत संचालन

डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड Read Next

डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड