फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । गत असोज–१२ गतेको बाढीले मोटरेबल पक्की पुल बगाएपछि यहाँ अस्थायी बेलिब्रिज जडान गरिएको हो ।

खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार सिमानामा पर्ने फोक्सिङटारमा १ करोड २ लाख ९४ हजार रुपैयाँको लागतमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको लोकमार्गको गाईघाट–दिक्तेल योजना कार्यालय प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।

यो सडक खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने प्रमुख मार्गका रूपमा रहेको छ । नयाँ जडान गरिएको बेलिब्रिज ५० मिटर लम्बाई र साढे तीन मिटर चौडाइ रहेको छ ।पुल बगाएको साढे ३ महिनापछि अस्थायी बेलिब्रिज जडान गरेसँगै खोटाङबाट पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क पुनःस्थापित भएको कार्यालय प्रमुख ज्ञवालीले बताए ।

हिउँदमा बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात सम्पर्क जोडिए पनि वर्षामा पुनःसमस्या हुने भन्दै स्थायी पुल निर्माणका लागि स्थानीयले आग्रह गरिरहेका छन् ।

उद्योग वाणिज्य सङ्घ खोटाङका राजनप्रसाद अध्यक्ष आचार्यले तत्कालका लागि अस्थायी बेलिब्रिज जडान भएपछि तराईका जिल्ला आवतजावत गर्न र व्यापारीलाई दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको बताए ।

फोक्सिङटार पुल बगाएपछि मध्यपहाडी लोकमार्गको घुर्मी-कटारी हुँदै सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । अस्थायी भए पनि आजबाट त्यो हटेको छ तर वर्षायाममा फेरि उही नियति दोहोरिने भएकाले समयमै पक्की सडक निर्माण गर्न आवश्यक छ । त्यसमा सरोकार भएकाहरूको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भने ।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले मङ्सिर–२८ गते ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यसअघि लामो समयपछि यहाँ १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल निर्माण गरिएको थियो । दश वर्ष लगाएर बनाएको पुल विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो तर दुई वर्षमै पुल बगाएपछि फेरि समस्या भएको छ ।

नेपाल भारत संयुक्त व्यापार मञ्च बैठक, द्विपक्षीय व्यापार विस्तारमा जोड Read Previous

नेपाल भारत संयुक्त व्यापार मञ्च बैठक, द्विपक्षीय व्यापार विस्तारमा जोड

५ महिनामै सेयर किन्न लिए १८ अर्ब ऋण, करोड बढी लिने २७ प्रतिशतले बढे Read Next

५ महिनामै सेयर किन्न लिए १८ अर्ब ऋण, करोड बढी लिने २७ प्रतिशतले बढे