दोधारा चाँदनीमा सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो, रूख कटान सम्झौता

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको छ ।

बुधबार बन्दरगाह निर्माणस्थलमा भएका रूख कटानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच सम्झौता भएपछि बन्दरगाह निर्माणको बाटो खुलेको हो ।

एकीकृत जाँचचौकी निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२.३६ हेक्टर जग्गा प्रयोग गर्न र उक्त जग्गामा रहेका विभिन्न प्रजातिका १ हजार ७०२ वटा रूख र खम्बा हटाउन स्वीकृतिका लागि विभाग र समितिबीच सम्झौता भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए

‘रूख कटानका लागि विभाग र समितिबीच सम्झौता भएको छ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले एकीकृत जाँचचौकी निर्माणस्थलमा भएको रूखको छपान मूल्याङ्कन गरी विभागमा पठाउनेछ र विभागबाट प्रमाणित भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट रूख कटानको आदेश उपलब्ध गराउनुपर्ने हुन्छ,’ कार्यकारी निर्देशक गजुरेलले भने, ‘आदेश प्राप्त भएपछि समितिले प्रचलित कानुनअनुसार आफ्नै खर्चमा रूख कटानलगायत काम गर्नेछ ।’

उनले समिति रूख कटानको आदेशको पर्खाइमा रहेको र रूख कटानको आदेश प्राप्त हुनासाथ तत्काल काम सुरू गर्ने बताए । निर्देशक गजुरेलका अनुसार भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने एकीकृत जाँच चौकीका लागि नेपाल सरकार र भारत सरकारबीच गत २०२३ को जुन १ मा समझदारी भएको थियो ।

एकीकृत जाँच चौकीका लागि प्रयोग हुने क्षेत्रफलको सट्टाभर्नास्वरूप १४ करोड ८२ लाख ६० हजार रुपैयाँ समितिबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कोषमा जम्मा गरिएको थियो । समितिबाट रूख कटानलगायत साइट क्लियरेन्सको कार्य सम्पन्न भएपछि भारतीय पक्षबाट एकीकृत जाँच चौकी निर्माणको कार्य सुरू हुने समितिका कार्यकारी निर्देशकले गजुरेलले जानकारी दिए ।

आयोजनाको कूल लागत ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । ‘यहाँ संरचना निर्माणका लागि भारतीय पक्षबाट कम्पनी छनोट गर्न टेण्डर तयारी गरिसकेको छ,’ कार्यकारी अधिकृत गजुरेलले भने, ‘हामीले निर्माणस्थलमा रूख कटान कार्य सम्पन्न भएपछि टेण्डर प्रकाशित हुने जानकारी भारतीय पक्षबाट आएको छ ।’

सुक्खा बन्दरगाहमा दुई वटा गोदाम, भन्सार चेक, क्वारेन्टाइन, इमिग्रेसन, सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको कास्की-बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र Read Previous

मध्यपहाडी लोकमार्गको कास्की-बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र

नेप्सेमा सूचीकृत २९ प्रतिशत कम्पनीले मात्रै दिए लाभांश, कुनले कति ? (सूचीसहित) Read Next

नेप्सेमा सूचीकृत २९ प्रतिशत कम्पनीले मात्रै दिए लाभांश, कुनले कति ? (सूचीसहित)