काठमाडौं । सिद्धार्थ राजमार्गको पाल्पास्थित निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको सुरुङ खन्नेकाम अन्तिम चरणमा पुगेको छ ।
आयोजना अन्तर्गत निर्माण हुने तीन वटै बाइपास सुरुङ यसअघि नै खनिसकिएको छ भने मुख्य सुरुङ खन्ने काम पनि अन्तिम चरणमा पुगेको हो ।
सिद्धबाबा सुरुङमार्ग आयोजनका अनुसार १०८९ मिटर लामो मुख्य सुरुङमध्ये पुस २४ गतेसम्म १०८१.२ मिटर खनिसकिएको छ । अब मुख्य सुरुङ खन्न ७.८ मिटर मात्रै बाँकी छ ।
मुख्य सुरुङको उत्तरतर्फबाट ४७७.२ मिटर र दक्षिणतर्फबाट ६०४ मिटर सुरुङ खनिसकिएको आयोजनाका म्यानेजर कृष्णराज अधिकारीले जानकारी दिए । अब बाँकी ७.८ मिटर सुरुङ खन्न केही दिन मात्रै लाग्ने उनले बताए । सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेकाले अब चाँडै औपचारिक कार्यक्रम मार्फत ब्रेक थ्रु गरिने उनले बताए ।
आयोजनाका बाइपास सुरुङ यसअघि नै खनिसकिएको छ । १६१ मिटर लामो बाइपास २ सुरुङ पुस ७ गते ब्रेक थ्रु गरिएको थियो ।
त्यस्तै, १५१ मिटर लामो बाइपास १ सुरुङ असोज ४ गते र १३० मिटर लामो बाइबास ३ को सुरुङ गत भदौ २६ गते ब्रेक थ्रु गरिएको थियो ।
त्यसैगरी, आयोजना अन्तर्गत दक्षिणतर्फ २ हजार ३०० स्लोप प्रोटेक्सन गर्नु पर्नेमा हालसम्म १ हजार ४९५ वर्गमिटर र ११०० मिटरको उत्तरतर्फ ४९५ वर्गमिटर बराबरको काम सम्पन्न भएको छ ।
हालसम्म आयोजनाको समग्रमा भौतिक प्रगति ३८.८५ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति ३९.९० प्रतिशत रहेको छ ।

मुख्य सुरुङको ब्रेक थ्रु गरिएपछि सुरुङको लाइनिङ (फिनसिङ)को काम सुरू हुने आयोजनाले जनाएको छ । सुरुङ खन्ने काम सकिएपछि सुरुङमार्गमा गाडी गुड्न भने कम्तीमा १ वर्ष लाग्नेछ । आयोजनामा लाइट, अक्सिजन, सीसी क्यामेरा लगायत उपकरण जडान गर्नुपर्नेछ ।
कुल १ हजार १२६ मिटर लामो यो सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यस मोडलमा ठेकेदार कम्पनीले नै डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।
सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको हो । ठेक्का सम्झौता अनुसार २२ मार्च २०२७ भित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्नेछ ।
सिद्धार्थ राजमार्गको बुटवल-तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा पोर्टल रहनेछ । चिडियाखोलाको खोँच हुँदै दोभान नजिकै निस्कने छ ।
निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्गका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ । बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा सुरुङ निर्माण गर्न लागिएको हो ।
नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु सवारीसाधन सुरुङबाटै जानेछन् ।
सुरुङमार्गले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत दर्जन बढी जिल्लासीलाई सुविधा पुग्नेछ । सुरुङ सञ्चालनमा आएपछि सम्भावित दुर्घटना कम गराउन र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।