पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.४ प्रतिशत, निर्माण क्षेत्र भने अझै ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासका मुलुकको आर्थिक वृद्धिदर करिब साढे ३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले पहिलो त्रैमासमा ३.४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

प्रतिवेदनका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो ।

चालु आवमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धिले आर्थिक वृद्धिदर बढेको कार्यालयले जनाएको छ ।

‘यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो । खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेकाले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

तर, आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । यस वर्षको पहिलो त्रैमासमा कुल १८ औद्योगिक क्षेत्रमध्ये निर्माण बाहेक अरु सबै क्षेत्रको वृद्धिदर धनात्मक छ ।

निर्माण बाहेक क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अङ्कले मात्र वृद्धि हुने अनुमान गरिएको कार्यालयले प्रस्ट्याएको छ । यद्यपि, सो अवधिमा विद्युत् र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।

विद्युत् र ग्यास क्षेत्रको वृद्धिदर तीव्र

कार्यालयले अर्थतन्त्रका विभिन्न १८ क्षेत्र गणना गरी जीडीपीको अनुमान गर्ने गर्छ । चालु आवको पहिलो त्रैमासमा १८ मध्ये विद्युत् र ग्यास क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै २१.४ प्रतिशत छ ।

त्यस्तै, दोस्रो स्थानमा यातायात र गोदाम क्षेत्रको वृद्धिदर ६.७ प्रतिशत रहेको छ । त्यसैगरी, आवास तथा भोजन क्षेत्रको वृद्धिदर ६.३ प्रतिशत रहने अनुमान गरिएको छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दर ५.७ प्रतिशत रहने अनुमान कार्यालयको छ ।

कार्यालयका अनुसार प्रथम त्रैमासमा प्रशासनिक सहयोगी सेवा क्षेत्र वृद्धिदर ५.४ प्रतिशत, वैज्ञानिक तथा प्राविधिक सेवा वृद्धिदर ५.१ प्रतिशत, स्वास्थ्य तथा सामाजिक क्षेत्र ४.१ प्रतिशत, कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशत रहने प्रक्षेपण छ ।

त्यसैगरी, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर ३ प्रतिशत, रियल स्टेट ३.१ प्रतिशत, सूचना तथा प्रविधि क्षेत्र २.२ प्रतिशत, उत्पादनमूलक उद्योगको वृद्धिदर २.३ प्रतिशत रहेको छ ।

पहिलो त्रैमासमा अन्य, शिक्षा, व्यापार र खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर भने १ प्रतिशतभन्दा कम छ ।

निर्माण क्षेत्र भने अझै ऋणात्मक

प्रथम त्रैमासमा १७ क्षेत्रको वृद्धिदर धनात्मक भए पनि निर्माण क्षेत्रको वृद्धिदर अझै ऋणात्मक छ । कार्यालयका अनुसार निर्माण क्षेत्रको वृद्धिदर ०.३ प्रतिशतले ऋणात्मक छ ।

निर्माणजन्य वस्तु आयातमा आएको गिरावट र निर्माण गतिविधिले गति लिन नसक्दा यो क्षेत्र संकुचनमा छ । निर्माण क्षेत्रको वृद्धिदर कोरोना महामारी यता लगातार ऋणात्मक छ ।

 

लघुवित्त प्रति राष्ट्र बैंक थप लचक, यस्ता छन् नयाँ व्यवस्था Read Previous

लघुवित्त प्रति राष्ट्र बैंक थप लचक, यस्ता छन् नयाँ व्यवस्था

परासीबाट चार चारपाङ्ग्रे सवारीको लाइसेन्स दिन सुरू Read Next

परासीबाट चार चारपाङ्ग्रे सवारीको लाइसेन्स दिन सुरू