आइपीओ भर्नु अघि हेरौं कस्तो छ गार्डियन माइक्रो इन्स्योरेन्सको अवस्था ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा पुस २४ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

३ शाखा, १८ उपशाखा विस्तार

गार्डियन माइक्रो लाइफ कम्पनी ऐन, २०६३ अनुसार २०७९ पुस ११ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको थियो । बीमा ऐन, २०७९ तथा बीमा विनियमावली, २०४९ अनुसार २०७९ चैत २७ गते नेपाल बीमा प्राधिकरणबाट लघु बीमा सम्बन्धी कारोबार गर्न स्वीकृति प्राएके थियो । कम्पनीले २०८० असार २२ गते देखि औपचारिक रुपमा लघु जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले देशका विभिन्न २६ स्थानहरूमा कार्यालय स्थापना गर्न बीमा प्राधिकरणबाट स्वीकृती पाएकोमा हालसम्म २४ स्थानमा कार्यालय संचालनमा ल्याएको छ । केन्द्रीय कार्यालय १, प्रदेश कार्यालय १, शाखा कार्यालय ३, उपशाखा कार्यालय १८, र एक्सटेन्सन काउण्टर १, गरी जम्मा २४ वटा कार्यालय स्थापना गरी स्थानीय स्तरबाटै लघु जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।

कम्पनीको रजिस्टर्ड कार्यालय मोरङको विराटनगर महानगरपालिकाको वडा नं. ७ मा रहेको छ । आवश्यकता अनुसार देशका जुनसुकै ठाउँ र विदेशमा समेत शाखा खोल्न सक्नेछ ।

समय सापेक्ष अनुसार नयाँ नयाँ लघु जीवन बीमा योजना तथा सेवाहरूको विकास गरी सम्भाव्य ग्राहकहरूको पहिचान गरेर आफ्नो व्यापार विस्तार गर्ने योजना रहेको छ । हाल कम्पनीले ५ किसिमका बीमा योजनाहरू बजारमा ल्याएको छ ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

८० करोड अधिकृत पूँजी रहेको गार्डियनको जारी पूँजी ७५ करोड ५० रुपैयाँ रहेको छ । हाल ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न कम्पनीले २२ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।

आइपीओपछि कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ७० प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा ३० प्रतिशत रहने छ ।

कम्पनीले चालु आवको असोज मसान्तसम्म ५३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । ५२ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको रिटेन्ड अर्निङमा ४९ लाख ६९ हजार रुपैयाँ छ । अदर इक्विटी १७ लाख ५३ हजार रुपैयाँ छ । चालु आवको मंसिरसम्म कम्पनीले १५ करोड ५७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

गार्डियनले सार्वजनिक गरेको आह्वान पत्र अनुसार चालु आर्थिक वर्षमा ६३ लाख ६४ हजार, २०८२/८३ मा ९७ लाख ७९ हजार र २०८३/८४ मा १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्ने प्रक्षेपन गरेको छ । त्यस्तै, संचित नाफा चालु आवमा ८४ लाख, २०८२/८३ मा १ करोड ७१ लाख र २०८३/८४ मा २ करोड ७४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

कम्पनीले प्रतिसेयर आम्दानी चालु आवमा ०.८५ रुपैयाँ, आगामी आवमा १.३० रुपैयाँ र आव २०८३/८४ मा १.५४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आवमा १०१.२६ रुपैयाँ रहने प्रतिसेयर नेटवर्थ आगामी वर्ष १०२.५७ रुपैयाँ र आव २०८३/८४ मा १०४.११ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

कस्तो छ रेटिङ ?

आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले गार्डियनलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आइपीओबाट प्राप्त पैसा कहाँ लगानी गर्छ ?

आइपीओ जारीबाट प्राप्त हुने रकम कम्पनी ऐन, बीमा ऐन तथा अन्य प्रचलित कानुनको अधिनमा रही कम्पनीको व्यवसायिक प्रयोजनमा उपयोग गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको नयाँ लगानी निर्देशिकाले विभिन्न पूर्वाधारजन्य क्षेत्रहरू तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीको अवसरहरू प्रदान गरेकोले त्यस्तो क्षेत्रहरूमा लगानी विस्तारका लागि उक्त रकम उपयोगको लागि पहल गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार आइपीओबाट प्राप्त हुने २२ करोड ५० लाख रुपैयाँमध्ये २२ करोड ३० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरिने छ । बाँकी २० लाख रुपैयाँ शाखा विस्तार र भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने कम्पनीले जनाएको छ ।

को-को छन् प्रमोटर सेयर होल्डर ?

कम्पनीको कुल चुक्त पूँजीको ७० प्रतिशत हिस्सा संस्थापक सेयरधनीको रहेको छ । गार्डियनमा विभिन्न अटोमोबाइल कम्पनी, इन्भेष्टमेन्ट कम्पनीदेखि विभिन्न व्यवसायी/व्यक्तिहरू प्रमोटर सेयर होल्डरका रूपमा रहेका छन् । कम्पनीमा मुख्यगरी १४ जना प्रमोटर सेयर होल्डर रहेका छन् ।

कम्पनीमा सबैभन्दा धेरै सेयर हिस्सा दीपक भट्टको छ । उनको कम्पनीमा ११ करोड २५ लाख रुपैयाँ बराबरको ११ लाख २५ हजार कित्ता सेयर लगानी छ ।

कम्पनीमा एसजी फिन्कोर्षको पनि ११ करोड २५ लाख रुपैयाँ लगानी छ । यस कम्पनीको नाममा ११ लाख २५ हजार कित्ता सेयर छ ।

त्यस्तै, कम्पनीमा नेब्बुल्लस क्पापिटलको ६ करोड २ लाख रुपैयाँ (६ लाख २ हजार कित्ता), राजबहादुर शाह, हुलास अटोक्राफ्ट र शुभम दुगडको समान ३/३ करोड रुपैयाँ (३ लाख कित्ता) सेयर लगानी छ ।

त्यस्तै, कम्पनीमा मेटा इन्भेष्टमेन्टको १ करोड २५ लाख, प्रिन्छसेल इमेजिंगको १ करोड १० लाख, लीला अग्रवाल, र सुलोचना अग्रवालको समान १/१ करोड, लियोन मोटर्सको ८५ लाख, साक्षी बसंल (गुप्ता), आकांक्ष गुप्ता र लतिका गोल्याणको समान ७५/७५ लाख रुपैयाँ लगानी छ ।

बीपी राजमार्ग पुनर्निर्माण गर्न साढे ९ अर्ब खर्च हुने, स्रोत अनिश्चित Read Previous

बीपी राजमार्ग पुनर्निर्माण गर्न साढे ९ अर्ब खर्च हुने, स्रोत अनिश्चित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित Read Next

प्रतिकूल मौसमले हवाई उडान प्रभावित