विष्णुमती करिडोरको ट्रयाक खन्न सुरू

काठमाडौं । काठमाडौं ५ को बुढानिलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमती करिडोरको ट्रयाक खोल्ने कार्य सुरू भएको छ । शुक्रबार काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरेका हुन् ।

हाल संघीय सरकारबाट १ करोड विनियोजन गरी सुरू भएको करिडोरको कामका लागि बजेट वृद्धिमा समेत सघाउने मन्त्री पौडेलले प्रतिबद्धता जनाए । करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै त्यसलाई कम गर्न पहल गरेको बताए ।

‘यस करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्नेछ,’ मन्त्री पौडेलले भने, ‘नागरिकको विकास आवश्यकता पूरा गर्न हाम्रो सदैव साथ रहनेछ । ’

बुढानिलकण्ठ क्षेत्रमा सडक डिभिजन विभागबाट सडक विस्तार हुनेछ । यसैगरी टोखा नगर क्षेत्रको करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत सडक विस्तारको काम सुरू भएको छ ।

हाल बुढानिलकण्ठको धनेश्वर धन्ने ढिकुरो क्षेत्रबाट सुरू करिडोरको ट्रयाक स्कोन मन्दिरसम्म पुर्याउने लक्ष्य छ । क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर सफल पार्नेसमेत मन्त्री पौडेलले प्रतिबद्धता जनाए ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा मन्त्री पौडेलले सांसदका रुपमा आफू निर्वाचित भएमा करिडोरको काम अघि बढाउने घोषणा गरेका थिए ।

शिलान्यास कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्का, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसमेत सहभागी थिए ।

उनीहरूले विकास निर्माणका लागि तीन वटै तहबीच समन्वय र सहभागीता रहने भन्दै मन्त्री पौडेलसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।

करिडोर खन्ने चर्चा लामो समयदेखि भए पनि सुरू हुन सकेको थिएन । करिडोरको काम सम्पन्न भएमा दुवै तहको विकास र यातायातमा निकै सहजता पुग्ने वडाध्यक्ष केसीले बताए ।

निरन्तर खस्किँदै टेलिकम व्यवसाय : गुम्यो २४ अर्बको व्यापार, राजस्वमा धक्का Read Previous

निरन्तर खस्किँदै टेलिकम व्यवसाय : गुम्यो २४ अर्बको व्यापार, राजस्वमा धक्का

४ लाख कुखरा पाल्ने दाउन्ने एग्रो फार्मले आइपीओ जारी गर्ने Read Next

४ लाख कुखरा पाल्ने दाउन्ने एग्रो फार्मले आइपीओ जारी गर्ने