काठमाडौं । अंग्रेजी वर्ष २०१९ लाई विदाई गरी २०२० को सुरुभइसकेको छ । सन् २०१९ मा नेपालमा तरकारीको मूल्यमा निकै उतारचढाव आएको छ । यो वर्ष तरकारीको मूल्यवृद्धि दशककै उच्च भएको जानकारहरु बताउँछन् । यसले सर्वसाधरणको भान्सा समेत महँगो बनाएको ।
सो अवधिमा प्याज, काउली, गोलभेडा, बोडी, घिउ सिमी, बन्दा, स्कुस, हरियो प्याज, काँक्रोलगायका तरकारीमा सबैभन्दा बढी मूल्य वृद्धि देखिएको छ ।
कालिमाटी तथा फलफूल विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार विगतको समयमा मंसिरदेखि नै काउली–बन्दाको मूल्य घट्नु पर्ने भएता पनि पुस महिनाको मध्यमा आइपुग्दा समेत मूल्य घट्न सकेको छैन । यो वर्ष झरी तथा बाढीले धेरैको विरुवा नष्ट गरेकाले उत्पादनमा वृद्धि हुन नसक्दा तरकारीको मूल्य घट्न नसकेको उनले बताए ।
बीचौलीयाकै कारण मूल्य घट्नु पर्ने समयमा समेत तरकारीको मूल्यमा कमी आउन सकेको छैन । उनीहरुले कहिले बजारमा आपूर्ति कम गरेर त कहिले तरकारी ढुवानीमै समस्या पारेर तरकारीको भाउ बढाउने गरेका छन् ।
उनका अनुसार विगतमा काउली बन्दाको मूल्य घटेपछि अन्य तरकारीको पनि मूल्य स्वत घट्ने गरेको भए पनि यो पटक त्यसो हुन सकेको छैन । ‘विगतका वर्षमा बन्दा धेरै उत्पादन हुन्थ्यो, गत वर्ष पुसमा हामीले १५ रुपैयाँ केजीसम्म बन्दा बेचेका थियौं, काउली २५ रुपैयाँमै बेच्नु पर्ने भएको थियो, अहिले ७५/८५ रुपैयाँमा बेची रहेका छन्,’ श्रेष्ठले भने ।
सरदर मंसिर/पुस यता तरकारीको मूल्य अन्य समयमाभन्दा धेरै नै कम हुने गर्छ । किन भने यो समयमा नेपालमै तरकारीहरु धेरै उत्पादन हुने गर्छन् । तर, अन्य समयमा यसो हुने भएता पनि यो वर्ष भने त्यसो हुन सकेको छैन ।
१ वर्षको तुलना गर्दा अंग्रेजी वर्ष २०१८ अन्तिम, यानी मंसिर महिनादेखि अहिले पुस महिनासम्म आईपुग्दा तरकारीको मूल्यमा ४ सय ४० प्रतिशतसम्मको मूल्य वृद्धि भएको देखिन्छ ।
कृषि विज्ञ कृष्ण पौडेलका अनुसार नेपालमा तरकारीको मूल्य नघट्नुका ३ कारणहरु रहेका छन् ।पहिलो, उत्पादन क्षेत्रमा धेरै पानी पर्नु, जसका कारण धेरै तरकारीका बीउहरु नाश भए । त्यसले स्वत तरकारीमा असर पार्यो ।
दोस्रो, भारतबाट आउने तरकारीमा विषादी परीक्षण । यसले आयात हुने कतिपय नाकामा तरकारीका ट्रक नै रोकियो । त्यसपछि जनता स्वत सुरक्षित फलफूल तथा तरकारी महँगो भए पनि किनेर खान थाले । यसले केही हदसम्म उपभोक्तामा सचेतना समेत जगाएको पौडेल बताउँछन् ।
तेस्रो, बीचौलीया । बीचौलीयाकै कारण मूल्य घट्नु पर्ने समयमा समेत तरकारीको मूल्यमा कमि आउन सकेको छैन । यसमा केही नेपाली जनता रेमिट्यान्सकै पैसाले भए पनि महंगै खान पनि सक्षम भएको हो कि ? भन्ने भान हुन थालेको उनी बताउँछन् ।
‘हाम्रो देशमा बीचौलियाको छुट्टै गिरोह छ, जसले मूल्य घट्न दिदैन, अर्को तर्फ केही गरी नाकामा आयात रोकिदाको विकल्पका रुपमा सरकारसँग उत्पादन बढाउने कुनै योजना छैन । यस्तै हुने हो भने अझै केही समय तरकारीको मूल्य घट्दैन,’ उनी भन्छन् ।
कुन तरकारीमा कति मूल्य अन्तर?
प्याजको थोक मूल्यमा सबैभन्दा भारी अन्तर आएको देखिन्छ । मंसिर महिनादेखि पुसमहिनासम्म आइपुग्दा प्याजको थोक मूल्य ३० रुपैयाँ प्रतिकेजीबाट बढेर १ सय ६२ रुपैयाँ प्रतिकेजी पुगेकाे थियो ।
गत मंसिरमा खुद्रा बजारमा ४५ रुपैयाँ प्रतिकेजी विक्री भएको प्याज अहिलेको पुसमा खुद्रा बजारमा १ सय ९५ देखि २ सय रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ ।
यस्तै गोलभेडाको मूल्य गत मंसिरमा १८ देखि २३ रुपैयाँ प्रतिकेजी रहेको थियो । हाल आएर ४२ देखि ५५ रुपैयाँ प्रतिकेजी थोक मूल्यमा विक्री भइरहेको छ । यस बीचमा गोलभेडाको मूल्य १ सय ३३ देखि १ सय ३९ रुपैयाँ प्रतिकेजी पुगेको थियो ।
कालिमाटी खुद्रा बजारमा विगत मंसिरमा ३५ देखि ४५ रुपैयाँ प्रतिकेजीसम्म गोलभेडा विक्री भएको थियो भने यो पुसमा त्यही गोलभेंडाको मूल्य ७५ देखि १ सय रुपैयाँ प्रतिकेजी पुगेको छ ।
काउलीको मूल्य गत मंसिरमा कालिमाटी बजारमा १३ रुपैयाँदेखि १८ रुपैयाँ प्रतिकेजी विक्रीका लागि राखिएको तथ्यांकले देखाएको छ । यो पुसमहिनासम्म आइपुग्दा कालिमाटीमा काउलीको थोक मूल्य ६२ रुपैयाँदेखि ७८ रुपैयाँ प्रतिकेजीमा स्थिर रहेको छ । काउलीमा विगत १ वर्षमा ३ सय ७६ प्रतिशतले मूल्य वृद्धि भएको हो ।
गएको मंसिरमा कालिमाटी खुद्रा बजारमा काउली प्रतिकेजी २५ देखि ३५ रुपैयाँ प्रतिकेजी रहेको थियो भने हाल आईपुग्दा ४५ देखि ९५ रुपैयाँ प्रतिकेजीसम्म विक्री भइरहेको छ ।
बोडीको मूल्य गत वर्ष मंसिरमा कालिमाटीमा ३३ रुपैयाँ प्रतिकेजी विक्री भएको थियो भने अहिले पुस महिनासम्म आईपुग्दा ७८ रुपैयाँ प्रतिकेजी रहेको छ । यसमा विगत १ वर्षमा १ सय ३६ प्रतिश मूल्य वृद्धि भएको हो ।
यस्तै खुद्रा बजारमा गत मंसिरमा बोडिको मूल्य प्रतिकेजी ५५ रुपैयाँ रहेको थियो भने हाल १ सय ५ रुपैयाँ प्रतिकेजीमा आकासिएको छ ।घिउ सिमीको मूल्य गतवर्ष मंसिरमा ४३ रुपैयाँ प्रतिकेजी रहेको थियो भने हाल ९८ रुपैयाँ प्रतिकेजीमा थोकबजारमा विक्री भइरहेको छ । यसको मूल्यमा १ सय २७ प्रतिशतले मूल्य वृद्धि भएको हो । कालिमाटी खुद्रा बजारमा विगतको मंसिरमा घिउसिमी ५५ रुपैयाँ प्रतिकेजी विक्री भएको कालिमाटी बजारको तथ्यांकले देखाएको छ भने हाल यसको मूल्य १ सय २५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।
हरियो प्याज विगत मंसिरमा ३५ रुपैयाँ प्रतिकेजी विक्री भएको थियो भने पुस महिनासम्म आईपुग्दा प्रतिकेजी १ सय ३५ रुपैयाँ पुगेको छ । हरियो प्याज सुख्खा प्याजको विकल्पको रुपमा प्रयोग हुन थाले पनि यसले बजार पाउन थालेको हो । हरियो प्याजमा २ सय ७५ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
विगत मंसिरमा हरियो प्याज खुद्रा बजारमा ५५ रुपैयाँ प्रतिकेजी विक्री भएको थियो भने हाल पुसमा यसको खुद्रा मूल्य १ सय ६५ प्रतिकेजी पुगेको छ ।
यस्तै काँक्रो विगत मंसिरमा कालिमाटी बजारको थोक मूल्यमा प्रतिकेजी २८ रुपैयाँमा विक्री भएको थियो भने यो पुसमहिनामा सोही काक्रो ९८ रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । काक्रोको थोक मूल्यमा २ सय ५० प्रतिशतले वृद्धि आएको हो ।गत मंसिरमा ३५ रुपैयाँ प्रतिकेजी खुद्रा मूल्यमा विक्री हुने गरेको काँक्रो हाल पुसमा प्रतिकेजी १ सय २५ रुपैयाँ पुगेको छ ।