‘भेरिएसन’ नहुँदा चार लेनको महाकालीमा पुल निमार्ण प्रभावित

महाकाली नदीमाथि निर्माणाधीन पक्की पुल ।

दोधारा चाँदनी  । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निमार्णको काम प्रभावित बनेको छ । पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्डको परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि ‘भेरिएसन’ नभएका कारण काम प्रभावित भएको पुल निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको बताए । ‘नयाँ डिजाइन गत वर्ष चैतमै स्वीकृत भएको हो, अहिलेसम्म भेरिएसन भएको छैन,’ इन्जिनियर पाण्डेयले भने, ‘भेरिएसनका लागि पटक पटक ताकेता गर्दा पनि हुन सकेको छैन ।’ उनले समयमै भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठूलो नोक्सान हुन सक्ने बताए ।

‘नयाँ डिजाइनको भेरिएसन नहुँदा स्वीकृत हुने बित्तिकै भेरिएसन हुने आशामा गाइडबन्डको काम गरियो, महाकालीको बाढीले गाइडबन्ड नै बगाएपछि अहिले क्षतिपूर्ति नपाउने अवस्था आएको छ,’ उनले भने, ‘बर्खा अगावै गाइडबन्डको काम गर्न नसकिए बाढीले ठूलो क्षति हुन्छ ।’

गत भदौ अन्तिम साता महाकाली नदीको बाढीले भीमदत्त नगरपालिकातर्फ ३०० मिटर गाइडबन्ड भत्काएको छ । गाइडबन्ड कटान हुँदा रु नौ करोडको क्षति भएको इन्जिनियर पाण्डेयले बताए । निर्माण कम्पनीले अब तत्काल काम सुरु गर्न नसकिने भन्दै महाकाली पुल आयोजनासँगै प्रधानमन्त्री कार्यालयसम्म पत्र पठाएको छ ।

महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको दुवैतर्फ ६०० मिटर चौडा र २ हजार ८०० मिटर लम्बाइको पोखरी निर्माण गरिएको छ । सुरुमा पोखरीको गाइडबन्ड २५० किलोग्रामभन्दा बढी तौलका ढुङ्गा प्रयोग गरेर निर्माण गर्नुपर्ने डिजाइन थियो  । ठूला ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गरी ग्राभेल र कङ्क्रिटसहितको गाइडबन्ड निर्माणको नयाँ डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको हो । त्यसपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । बर्खाअगावै भत्किएको गाइडबन्ड निर्माण हुन नसके बस्ती नै जोखिममा पर्ने स्थानीयहरू बताउँछन् ।

भीमदत्त नगरपालिका–१३ का वडाअध्यक्ष रामबहादुर बोहराले समयमा गाइडबन्ड निर्माण हुन नसके १३ नम्बर वडाका १ हजार १०० बढी स्थानीय विस्थापित हुने बताए । ‘गत भदौको बाढीले महाकाली नदी बस्तीतर्फ सोझिएको छ,’ उनले भने, ‘सरकारले तत्काल भुजेला खोला र गाइडबन्ड निर्माणको काम गर्नुपर्छ, नभए बर्सातमा ठूलो जोखिम छ ।’

भदौ अन्तिम साता महाकालीमा भीषण बाढी आएको थियो । त्यसबेला बाढीले महाकाली नदी बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडा प्रभावित बनेका थिए । भीमदत्त नगरपालिका–१२ का वडाअध्यक्ष भूपेन्द्रसिंह रावलले तत्काल काम सुरु गर्न नसके अर्को बाढीले गत वर्षको भन्दो ठूलो क्षति हुन सक्ने बताए।

‘हामी त अहिलेदेखि नै त्रासमा बस्नुपर्ने अवस्था आएको छ, त्यसकारण पुल निर्माण कम्पनीले तत्काल काम सुचारु गरोस्,’ उनले भने, ‘सरकारले आयोजनामा देखिएको समस्या समाधान गरी ठूलो क्षति हुनबाट रोक्नुपर्छ ।’

पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा पनि २०० मिटर कालोपत्रको काम बाँकी छ । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ । पक्की पुल निर्माणको काम गत वर्ष नै सकिए पनि पुलसँगै निर्माण हुने अन्य संरचना निमार्ण हुन बाँकी छन् ।रासस

हिमालयन डिष्टिलरी सहित ८ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

हिमालयन डिष्टिलरी सहित ८ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

प्रविधि क्षेत्रमा सन् २०२५ मा के-के नयाँ आउला ? Read Next

प्रविधि क्षेत्रमा सन् २०२५ मा के-के नयाँ आउला ?