 
			म्याग्दी । मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम-कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो ।
कुश्मा नगरपालिका-१ माझीबस्तीबाट जलजला गाउँपालिका-८ खनियाघाटसम्म २ किलोमिटर कालोपत्र भएको हो ।
१३ किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८६ लाख रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताए ।
विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ ।
बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ । १० किलोमिटर सडकमध्ये पहिलो चरणमा ६ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो । आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । रासस
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                