बजेट संशोधन गर्दै काठमाडौं महानगरपालिका, प्रक्रिया सुरू

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौं महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौं महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी हुन् ।

‘महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरू हेरफेर गर्न जरुरी देखिएको छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नुपरेको हो ।’

संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरपालिकाका विषयगत समिति एवं अन्य विभिन्न समितिहरूमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पास गरी नगरसभामा पेस गरिएको उपप्रमुख डङ्गोलले बताइन् । आर्थिक वर्षका लागि विनियोजित कूल बजेट रकम, चालुगत तथा पूँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरेको नगरसभामा उनले स्पष्ट पारिन् ।

संशोधित प्रस्ताव अनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर रू ७२ करोड ४३ लाख ७१ हजार बजेट कायम गर्न लागिएको छ । सो क्षेत्रमा यस अघि रू ७२ करोड ९९ लाख ७१ हजार विनियोजन भएको थियो ।

कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा रू ३ अर्ब ७० करोड ५३ लाख ८ हजार विनियोजन भएकोमा त्यसलाई बढाएर रू तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार कायम गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा रू १२ अर्ब एक करोड ९३ लाख ९१ हजार पाँच सय बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर रू ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।

सामाजिक विकासका क्षेत्रमा यसअघि रू पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार पाँच सय विनियोजन भएकोमा त्यसलाई घटाएर रू पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि रू २ अर्ब २२ करोड ६५ लाख ८५ हजार बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ । उक्त क्षेत्रमा यस अघि रू २ अर्ब ९६ करोड २९ लाख ८५ हजार विनियोजन भएको थियो ।

पाँच महिनामा १६ प्रतिशत बजेट खर्च

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले रू २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म रू ४ अर्ब एक करोड ४ लाख ५६ हजार बराबर खर्च भएको उपप्रमुख डङ्गोलले नगरसभालाई जानकारी गराउनुभयो । हालसम्मको बजेट खर्च कूल विनियोजनको १६.१० प्रतिशत हो ।

महानगरपालिकाले हालसम्म चालु शीर्षकमा २३.५८ प्रतिशत र पूँजीगत खर्च १०.९२ प्रतिशत खर्च भएको छ ।

‘हालसम्म पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८ प्रतिशत, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ,’ उपप्रमुख डङ्गोलले भनिन्, ‘त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ७.९२ प्रतिशत खर्च भएको देखिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा वढी ३६.५४ प्रतिशत खर्च भएको देखिन्छ ।’

महानगरपालिकाले चालु आर्थिक वर्षमा रू १२ अर्ब ९० करोड ६३ लाख २५ हजार बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । यही पुस ११ गतेसम्म कुल रू ४ अर्ब ९ करोड ८९ लाख ३६ हजार बराबर राजस्व प्राप्त भएको महानगरपालिकाले जनाएको छ । जसमा आन्तरिक राजस्वतर्फ कुल रू २ अर्ब ६१ करोड ५५ लाख ४३ हजार सङ्कलन भएको छ भने राजस्व बाँडफाँडबाट रू ५९ करोड ८९ लाख ४१ हजार र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रू ८८ करोड ४४ लाख ५१ हजार रहेको छ । हालसम्मको कुल राजश्व सङ्कलन वार्षिक लक्ष्यको ३१.०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कुल लक्ष्यको ३२.५५ प्रतिशत प्रगति भएको देखिन्छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक नतिजामा काठमाडौं महानगरपालिकाले ८२.७५ अङ्क प्राप्त गरेको पनि उपप्रमुख डङ्गोलले बताइन् । यो अङ्क काठमाडौं महानगरपालिकाले पाएको हालसम्मकै उच्च अङ्क हो ।

वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार Read Previous

वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार

सडकमा अटो रिक्साको सङ्ख्या बढेपछि ट्राफिक व्यवस्थापनमा समस्या Read Next

सडकमा अटो रिक्साको सङ्ख्या बढेपछि ट्राफिक व्यवस्थापनमा समस्या