काठमाडौं महानगरले १० वटा वडामा कार्यान्वयनमा ल्यायो फोहर वर्गीकरण योजना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामध्ये दश वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ । यस अवधिमा विभागले वडा नं. ५, ७, १०, १२, १९, २०, २४, २५, २६ र २७ गरी १० वटा वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याइएको हो ।

कामपाले यो योजना ल्याएको लामो समय भए पनि पूर्णअभ्यास गरी प्रभावकारी कार्यान्वयनमा अहिले ल्याइएको कामपाका वातावरण विभागकी प्रमुख सरिता राईले जनाकारी दिइन्। चालु आवमा सबै वडामा उक्त अध्यास कार्यन्वयनमा ल्याइने छ भन्दै वर्गीकरण गरी सङ्कलन गरिएको फोहरमात्र अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा लागिने उनले उल्लेख गरिन् ।

रानीपोखरी, कमलपोखरी, हिटिपोखरी, गहनापोखरी, नागपोखरीलगायत विभिन्न १० वटा पोखरीको नियमित सफाइ गरेर त्यहाँबाट उत्पादन भएको फोहर त्यसै ठाउँमा जैविक मल बनाउने काममा पनि विभागको अग्रसरता रहेको छ । रत्नपार्क, रानीपोखरी, बालाजुपार्क, शङ्खपार्क, पुष्पलालपार्क र ४० वटा सामुदायिक विद्यालयबाट उत्पादन भएको फोहरबाट जैविक मल बनाउने कार्य प्रारम्भ भएको विभागकी प्रमुख राईले बताइन् ।

नियमित र आकस्मिक नदी सफाइ कार्यक्रमअन्तर्गत महानगरपालिका भएर बग्ने ८ वटा नदी र नदी किनाराको सफाइका लागि गत कात्तिकदेखि १२० जना सरसफाइकर्मी परिचालन गरिएको भन्दै उनीहरूले दैनिक २० देखि २५ मेट्रिक टन फोहर सङ्कलन गरिरहेका उनले जानकारी दिइन् ।

.सहरको भूगोललाई ६ वटा क्षेत्रमा बाँडेर क्षेत्रगत रूपमा फोहरमैला सङ्कलन र ढुवानीका लागि सार्वजनिक खरिद प्रक्रियाबाट बोलपत्रदाता आह्वान गरिएको छ । ‘अहिले यसको मूल्याङ्कन भइरहेको छ,’ राईले भनिन् ।

चालु आर्थिक वर्षका लागि वातावरण व्यवस्थापन विभागलाई ६९ करोड ९३ लाख रुपैयाँ बजेट परेको छ । विभागका प्रमुख राईका अनुसार यसअन्तर्गत नियमित कार्यक्रममा ११.२१, क्रमागततर्फ ११.७२ र स्वर्णिम योजनामा ०.६३ प्रतिशत खर्च भएको छ ।

साथै कामपाले सहरलाई थप सफा राख्न खुला रूपमा फोहरमैला बाल्न निषेध गरेको छ । कसैले खुला रूपमा फोहरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही गर्ने बारे कामपाले सूचनामा जारी गरिसकेको छ ।

कामपा क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहरमैला तथा अन्य फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने र जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको कामपाले जनाएको छ ।

सहकारी सम्बन्धी अध्यादेश जारी, यस्ता छन् मुख्य व्यवस्था Read Previous

सहकारी सम्बन्धी अध्यादेश जारी, यस्ता छन् मुख्य व्यवस्था

प्राधिकरणको राहुघाट जलविद्युतको ७२ प्रतिशत काम सम्पन्न Read Next

प्राधिकरणको राहुघाट जलविद्युतको ७२ प्रतिशत काम सम्पन्न