सिद्धबाबाका तीन वटै बाइपास सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । सिद्धार्थ राजमार्गको पाल्पास्थित निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । पहिलो र तेस्रो बाइपास सुरुङ यसअघि नै ब्रेक थ्रु भएकोमा दोस्रो बाइपास सुरुङको आइतबार ब्रेक थ्रु गरिएको हो ।

सिद्धबाबा सुरुङमार्ग आयोजनका अनुसार १६१ मिटर लामो बाइपास २ सुरुङ पुस ७ गते ब्रेक थ्रु गरिएको हो । यससँगै अब आयोजनाको मुख्य सुरुङ मात्रै खन्न बाँकी रहेको छ ।

आयोजनको बाइपास १ को १५१ मिटर लामो सुरुङ असोज ४ गते र १३० मिटर लामो बाइबास ३ को सुरुङ गत भदौ २६ गते ब्रेक थ्रु गरिएको थियो ।

मुख्य सुरुङ खन्ने काम पनि अब करिब एकचौथाई मात्र बाँकी रहेको छ । आयोजनाका अनुसार कुल ११२६ मिटर लामो मुख्य सुरुङ मार्गमध्ये हालसम्म ८२४.८१ मिटर खनिसकिएको हो । जसमा उत्तरतर्फ ३६८.०९ मिटर र दक्षिणतर्फ ४५६.७२ मिटर खनिसकिएको छ । अब ३०१.१९ मिटर मात्रै सुरुङ खन्न बाँकी रहेको अयोजनाले जनाएको छ । मुख्य सुरुङ यसै वर्ष भित्र ब्रेक थ्रु गरिसक्ने आयोजनाको लक्ष्य छ ।

आयोजना अन्तर्गत दक्षिणतर्फ २ हजार ३०० स्लोप प्रोटेक्सन गर्नु पर्नेमा हालसम्म १ हजार ४९५ वर्गमिटर र ११०० मिटरको उत्तरतर्फ ४९५ वर्गमिटर बराबरको काम सम्पन्न भएको छ ।

हालसम्म आयोजनाको समग्रमा भौतिक प्रगति ३३.९५ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति ३२.२ प्रतिशत रहेको छ ।

कुल १ हजार १२६ मिटर लामो यो सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यस मोडलमा ठेकेदार कम्पनीले नै डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।

सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको हो । ठेक्का सम्झौता अनुसार २२ मार्च २०२७ भित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्नेछ ।

सिद्धार्थ राजमार्गको बुटवल(तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा पोर्टल रहनेछ । चिडियाखोलाको खोँच हुँदै दोभान नजिकै निस्कने छ ।

निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्गका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ । बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा सुरुङ निर्माण गर्न लागिएको हो ।

नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु सवारीसाधन सुरुङबाटै जानेछन् ।

सुरुङमार्गले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत दर्जन बढी जिल्लासीलाई सुविधा पुग्नेछ । सुरुङ सञ्चालनमा आएपछि सम्भावित दुर्घटना कम गराउन र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

५ महिनामा रसुवागढी नाकाबाट भित्रियो १ खर्ब २४ अर्बको चिनियाँ सामान Read Previous

५ महिनामा रसुवागढी नाकाबाट भित्रियो १ खर्ब २४ अर्बको चिनियाँ सामान

औषधी कम्पनीको नाम नतोकिकनै सिफारिस गर्ने व्यवस्था गरिँदै Read Next

औषधी कम्पनीको नाम नतोकिकनै सिफारिस गर्ने व्यवस्था गरिँदै