काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ । सोमबार २९ अंकले बढेको नेप्से आज १४ अंकले बढेको हो ।
मंगलबार नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७७ करोड रुपैयाँले बढेर ५ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक र व्यापार बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले बढेको छ ।
आज जानकी फाइनान्सको सर्वाधिक २० करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, जोशी हाइड्रोपावरको १९ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ७० कम्पनीको मूल्य घटेको छ ।
बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।