काठमाडौँ । सरकारले ३ वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो । हालसम्म ९ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल ४२५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । मन्त्रालयले अस्पताल नभएका ६५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो । ‘४७ स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा ८४ स्थानीय तहमा ४ अर्ब ४३ करोड रुपैयाँ पठाइसकेका छौँ,’ अधिकृत खड्काले भने ।
सरकारले पहिलो चरणमा ३९६ र दोस्रो चरणमा २६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो । केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन । सरकारले ३९६स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ । २६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चत भएको छैन ।
‘स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन् । सिन्धुपाञ्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ,’ अधिकृत खड्काले भने ।
उनका अनुसार अहिलेसम्म ३९६ पालिकामा अस्पताल बनाउन ५१ अर्ब ८४ करोड ५५ लाख र २६१ पलिकाका लागि ३ अर्ब २० करोड विनियोजन गरिएको छ । विसं २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा ५, १० र १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए। त्यही अनुसार ८० पालिकामा पाँच श्ययाको, १५४ पालिकामा १० श्यया तथा चार सय २३ पालिकामा १५ श्ययाका अस्पताल निर्माण गर्न थालिएको हो ।
सरकारले पाँच श्ययाका लागि ७ करोड ११ लाख ९८ हजार, १० श्ययाका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ श्ययाका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ ।