काँक्रेविहार । कर्णालीमा धान उत्पादन बढेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आवको तुलनामा चालु आवमा ५ हजार २२१ मेट्रिक टन धान बढी उत्पादन भएको हो ।
मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार गत आर्थिक वर्षमा १ लाख २४ हजार ९६९ मेट्रिक टन धान उत्पादन भएकामा चालु आवमा १ लाख ३० हजार ७९० मेट्रिक टन धान उत्पादन भएको छ ।
उनका अनुसार सबैभन्दा कम डोल्पामा धान उत्पादन भएको छ । डोल्पामा ३५० मेट्रिक टन उत्पादन भएको छ । डोल्पामा १९९ हेक्टर जमिन खेतीयोग्य छ । साथै मुगुमा ८८५ हेक्टरमा धानखेती गरिएकामा ९७५ मेट्रिक टन उत्पादन भएको छ ।
हुम्लामा ५५० हेक्टरमा एक हजार ३६ मेट्रिक टन धान उत्पादन भएको छ । मर्सी धानको उत्पादन हुने जुम्लामा यस वर्ष अघिल्लो वर्षकै हाराहारीमा धान उत्पादन भएको छ । जुम्लामा २ हजार ९३० हेक्टरमा धानखेती गरिएकामा छ हजार ३९५ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको भनाइ छ ।
कालीकोटमा अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढेको छ । कालीकोटमा गत आवजमा २ हजार ४१५ हेक्टरमा धानखेती भएकामा चालु आवमा २ हजार ४२५ हेक्टरमा धानखेती गरिएको थियो । उत्पादनका दृष्टिले समेत अघिल्लो आवको तुलनामा २१८ मेट्रिकटन बढी अर्थात ५ हजार ५०० मेट्रिक टन उत्पादन भएको छ ।
रुकुम पश्चिममा २ हजार ६४ हेक्टर जमिनमा धानखेती गरिएकामा ५ हजार ४८५ मेट्रिक टन धान उत्पादन भएको छ । सल्यानमा ६ हजार ७६० हेक्टरमा धानखेती गरिएकामा २३ हजार ६३० मेट्रिक टन धान उत्पादन भएको छ ।
जाजरकोटमा ८ हजार ७८५ मेट्रिक टन धान जाजरकोटमा उत्पादन भएको छ । जारकोटमा २ हजार ५६० हेक्टरमा धानबाली लगाएको थियो । त्यस्तै दैलेखमा २५ हजार १२० मेट्रिक टन धान उत्पादन भएको छ । जुन अघिल्लो आबको तुलनामा १ हजार ६२० मेट्रिक टन बढी हो । सुर्खेतमा ५२ हजार ९०४ मेट्रिक टन धान उत्पादन भएको छ । जुन अघिल्लो आवको तुलनामा ५ हजार ९०९ मेट्रिक टन बढी हो । रासस