मंसिरमा २९ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, उठ्यो चालु वर्षकै धेरै राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गा कारोबारमा सुधार देखिएको छ । कात्तिकको तुलनमा मंसिरमा घरजग्गा किनबेच २९.४३ प्रतिशतले बढेको हो ।

भूमि व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पाँचौं महिना मंसिरमा देशभर कुल ४३ हजार ३७९ वटा घरजग्गाको लिखत पारित (किनबेच) भएको छ । कात्तिकको तुलनामा मंसिरमा घरजग्गा किनबेच ९ हजार ८६५ वटाले बढेको हो । कात्तिकमा देशभर कुल ३३ हजार ५१४ वटा घरजग्ग किनबेच भएको थियो ।

त्यस्तै, गत वर्ष मंसिरको तुलनामा चालु आवको मंसिरमा घरजग्गा कारोबार ३.६५ प्रतिशतले बढेको छ । गत वर्ष मंसिरमा ४१ हजार ८५१ वटा घरजग्गको लिखत पारित भएको थियो । यस वर्ष गत वर्ष मंसिरको भन्दा १ हजार ५२८ वटा धेरै घरजग्गा किन्बेच भएको हो ।

मंसिरमा घरजग्गा कारोबारमा सुधार देखिए पनि लयमा भने आउन सकेको छैन । अहिले घरजग्गा कारोबारको सिजन भए पनि आर्थिक शिथिलताका कारण किनबेच बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।

मंसिरमा चालु आवकै दोस्रो धेरै घरजग्गा कारोबार भएको हो । चालु आवको साउनमा सबैभन्दा धेरै ४३ हजार ८३५ वटा लिखत पारित भएको थियो । त्यस्तै, भदौमा ३२ हजार ७९८, असोजमा ३० हजार ५२७ र कात्तिकमा ३३ हजार ५१४ वटा घरजग्गा किनबेच भएको थियो ।

२०७९ जेठमा सरकारले भू-उपयोग नियमावली लागू गरेदेखि लगातार ओरालो लागेको घरजग्ग कारोबारले अझै गति लिन नसकेको हो । घरजग्गा कारोबारमा सुधार ल्याउन सरकार र नेपाल राष्ट्र बैंकले एकपछि अर्को खुकुलो नीति ल्याए पनि कारोबार भने बढ्न सकेको छैन ।

सरकारले २०८० साउन अन्तिममा भूउपयोग नियमावली संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुलाएको थियो । सो बेला १ वर्षभित्र जग्गा वर्गीकरण गरिसक्न समय सीमा तोकिएको थियो । थपिएको समयमा वर्गीकरण नसकिँदा २०८१ असारदेखि फेरि कित्ताकाट रोकिएको थियो । कित्ताकाट नै रोकिएपछि सरकारले २०८१ भदौ २६ गते जग्ग वर्गीकरण गर्ने समय २०८२ असारसम्म थप्दै फेरि कित्ताकाट खुलाएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले व्यक्तिगत घर कर्जाको सीमा बढाएर २ करोड पुर्याएको छ भने रियल स्टेट कम्पनीलाई दिइने कर्जाको भार १०० प्रतिशतमा झारेको थियो । त्यस्तै, रियल ई-स्टेट कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।

त्यस्तै, राष्ट्र बैंकले २०८० असोजमा घरजग्गा धितो कर्जाको सीमा पनि बढाएको थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । त्यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।

त्यसैगरी, काठमाडौं उपत्यका भित्र रियल ई९स्टेट कर्जाको धितो संरक्षणमा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । साथै, नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीररियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था गरेको थियो । त्यससअघि यस्तो सीमा ४० प्रतिशत थियो । त्यस्तै, २०८१ जेठमा ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सहजै कर्जा पाइने अवस्था छ भने ब्याजदर समेत घट्दो क्रममा छ । अहिले बैंकहरूको औसत बेसरेट नै ७ प्रतिशतमा झरिसकेको छ । बैंकहरूले एकल अंकको ब्याजदरमै घरकर्जाका स्कीम ल्याउन थालेका छन् । यद्यपि, अपेक्षित रुपमा भने बढ्न सकेको छैन ।

राजस्वमा पनि सुधार

मंसिरमा कारोबार बढेसँगै सरकारको आम्दानी पनि उल्लेख्य बढेको छ । कात्तिकको तुलनामा मंसिरमा राजस्व संकलन १ अर्ब १७ करोड रुपैयाँ बढेर ३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यो चालु आवको कुनै एक महिनामा उठेको सबैभन्दा धेरै राजस्व हो ।

चालु आवको साउनमा ३ अर्ब ८३ करोड, भदौमा ३ अर्ब ८ करोड, असोजमा ३ अर्ब ९ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व उठेको थियो ।

यी जिल्लामा भयो धेरै कारोबार

विगतका महिनाहरूमा जस्तै मंसिरमा पनि तराईका जिल्लाहरूमै धेरै घरजग्ग किनबेच भएको छ । मंसिरमा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट सबैभन्दा धेरै १ हजार ५५३ वटा लिखत पारित भएको छ ।

त्यस्तै, मालपोत कार्यालय मोरङबाट १ हजार ४४२, भद्रपुरबाट १ हजार ३९८, धनगढीबाट १ हजार २२८, जनकपुरधामबाट १ हजार १३७ वटा घरजग्गा किनबेच भएको छ । त्यस्तै, मालपोत कार्यालय राजविराजबाट ९४१, मलंगवाबाट ९३९ वटा घरजग्गा किनबेच भएको छ ।

काठमाडौं उपत्यकामा मालपोत कार्यालय भक्तपुरबाट सर्वाधिक ८८८ वटा घरजग्गा किनबेच भएको छ । त्यस्तै, मालपोत कार्यालय लगनखेलबाट ८३९, कलंकीबाट ५६२, चाबहिलबाट ४२४, साँखुबाट ३४२, मनमैजुबाट २३८, डिल्लीबजारबाट १९५ र टोखाबाट १४८ वटा लिखत पारित भएको छ ।

आइएमईको आइपीओ नागरिक लगानी कोषले प्रत्याभूति गर्ने Read Previous

आइएमईको आइपीओ नागरिक लगानी कोषले प्रत्याभूति गर्ने

नेप्सेमा सामान्य वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा सामान्य वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी