ललितपुरको ५ ठाउँमा ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ जडान, सवारीको चाप अनुसार हरियो बत्ती बल्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले ५ ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्स  (एआइ) ट्राफिक लाइट संचालनमा ल्याएको छ ।

सोमबार महानगरका प्रमुख चिरीबाबु महर्जन वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्वीच अन गरेर उक्त लाइटको उद्घाटन गरेका हुन् ।

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन्। ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म ५ स्थानमा यस्ता लाइट जडान गरेको छ।

पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी ५ वटा लाइट इन्टिलिजेन्ट जडान गरिएको महानगरपालिकाले जनाएको छ ।

ती लाइटसँगै भेहिकल डिटेक्टर मेसिन पनि राखिएको छ । यसले सडकमा सवारीसाधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ । सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ ।

महानगरका प्रमुख महर्जनले ट्राफिक व्यवस्थापन गर्न यो लाइट जोडिएको बताए । उनले ललितपुरमा जडान गरिएको इन्टिलिजेन्ट लाइट नेपालमै पहिलो भएको जानकारी दिए ।

नयाँ सिस्टम भएकाले जनचेतना आवश्यक भएको उनले बताए। जनचेतना जगाउनका लागि नगर प्रहरी र स्कुलका विद्यार्थीलाई महानगरले परिचालन गर्ने उनको भनाइ छ।

ट्राफिक लाइटबीच भलाकुसारी हुन्छ, स्टपेज टाइम बढाउने, ग्रिन टाइम बढाउने घटाउने सन्दर्भमा कुराकानी हुन्छ । नयाँ सिस्टम भएकाले जनचेतना आवश्यक छ,’ उनले भने ।

उक्त लाइट ५ वर्षसम्म महानगरले मर्मत गर्नुपरे पनि १ पैसा पनि खर्च नलाग्ने उनले बताए । नगर प्रमुख महर्जनले अर्को वर्ष चक्रपथ बाहिरका वडाका प्रमुख सडकमा पनि यो ट्राफिक लाइट जडान गर्ने जानकारी दिए।

यो लाइट फिक्स , पुलिस म्यानुअल , सिङ्क्रोनाइजेशन, एटिसिएस लगायत आवश्यकता अनुसारको मोडमा प्रयोग गर्न सकिने छ । यसमा ५ वर्षसम्म डेटा स्टोर हुन्छ भने सवारीसाधनको र दुर्घटनाको रेकर्ड समेत रहन्छ ।

लाइट जडान गरेको नमूना पावर ग्रेड जेभिले सुरुमा ११७ स्थानमा सम्भाव्यता अध्ययन गरे पनि अति आवश्यक पर्ने ५ स्थानमा जडान गरिएको हो ।

 

वर्षा नहुँदा पनि वाग्मती करिडोरको कालो पुल मुनि सधैं पोखरी, सवारी आवगमनमा समस्या Read Previous

वर्षा नहुँदा पनि वाग्मती करिडोरको कालो पुल मुनि सधैं पोखरी, सवारी आवगमनमा समस्या

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित Read Next

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित