सेयर ‘स्प्लीट’ गर्दै एनएलजी इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्सले आफ्नो सेयर स्प्लीट (खण्डीकरण) गर्ने भएको छ ।

कम्पनीले सेयर स्प्लीटको लागि आवश्यक प्रक्रिया जानकारी गराइदिन आग्रह गर्दै सोमबार नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई पत्र लेखेको हो ।

कम्पनीले हाल प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको सेयर स्प्लीट गर्ने भएको हो । यद्यपि, कम्पनीले कुन सेयर अनुपातमा स्प्लीट गर्ने भन्ने केही खुलाएको छैन ।

कम्पनीले आफ्नो सेयर संख्या बढाउन सेयर स्प्लीट गर्न लागेको हो । सेयर स्प्लीट गर्दा चुक्ता पूँजी वृद्धि नभई सेयर संख्या मात्र वृद्धि हुनेछ ।

उदाहरणका लागि हाल अंकित मूल्य १०० रुपैयाँ रहेको सेयरलाई स्प्लीट गरी अंकित मूल्य ५० वा २५ रुपैयाँ जति पनि बनाउन सकिन्छ । यसरी सेयर संख्या दोब्बर, तेब्बर जतिले पनि बढाउन सकिन्छ । तर, कुल पूँजी भने बढ्दैन ।

२ अर्ब ५० करोड २६ लाख ६९ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको एनएलजीको हाल नेप्सेमा २ करोड ५० लाख २६ हजार ६९९ कित्ता सेयर सूचीकृत छ ।

यसअघि नेपाल लाइफ इन्स्योरेन्सले २०७७ सालमा सेयर स्प्लीट गर्ने प्रस्ताव साधरण सभाबाट पारित गरेको थियो । तर, हालसम्म पक्रिया अघि बढेको छैन । नेपाल लाइफले प्रतिकित्ता फेस भ्यालू १०० रुपैयाँबाट घटेर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव गरेको थियो ।

नेपालमा हालसम्म कुनै कम्पनीले पनि सेयर स्प्लीट गरेका छैनन् । विश्व सेयर बजारमा भने सेयर स्प्लीट गर्ने चलन छ । चर्चित अमेरिकी कम्पनीहरू एप्पल, गुगल, अमेजन, टेस्ला लगायतले पनि सेयर स्प्लीट गरेका थिए ।

सिटिजन्स बैंक र भोकमन्त्र बीच छुट सम्बन्धी सम्झौता Read Previous

सिटिजन्स बैंक र भोकमन्त्र बीच छुट सम्बन्धी सम्झौता

नेप्सेमा उच्च अंकको कमब्याक, २१२ कम्पनीको मूल्य बढ्यो Read Next

नेप्सेमा उच्च अंकको कमब्याक, २१२ कम्पनीको मूल्य बढ्यो