भैरहवामा अन्तर्राष्ट्रिय उडान स्थगित गर्दै तीन विदेशी एयरलायन्स

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै तीन विदेशी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने भएका छन् ।

जजिरा एयरवेज, फ्लाइ दुबई र थाइ एयर एसियाले बाक्लो हुस्सुसहितको खराब मौसमका कारण अवतरणमा कठिनाई भएको भन्दै उडान स्थगन गर्न लागेको नागरिक उड्डयन प्राधिकरणलाई जानकारी दिएका हुन् ।

गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि राति १० घण्टा बन्द गरिएपछि यी एयरलाइन्सले भैरहवामा नियमित उडान थालेका थिए । तर, अहिले मौसमको समस्या देखाउँदै भैरहवामा उडान बन्द गर्न लागेका हुन् ।

आजकाल हुस्सुका कारण भैरहवामा बिहान १ हजारदेखि १२०० मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ । यो भिजिबिलिटी जहाज अवतरण गर्न पर्याप्त हुँदैन । ठूला जहाज अवतरण गर्न कम्तीमा १८०० मिटर माथि भिजिबिलिटी आवश्यक पर्छ ।

भैरहवा विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइजेसन रिक्वायर्ड’ (आरएनपीएआर) प्रणाली जडान नहुँदा न्यून भिजिबिलिटीमा उडान-अवतरण गर्न नसकिएको हो । आरएनपीएआर प्रणली जडान भएमा न्यूनतम ८०० मिटर भिजिबिलिटीमा पनि सजिलै उडान-अवतरण गर्न सक्छन् ।

प्राधिकरणले भने माघदेखि भैरहवामा आरएनपीएआर एप्रोच प्रणाली लागू गर्ने तयारी भएकाले उडानलाई निरन्तरता दिन आग्रह गरेको छ । यद्यपि, यी वायुसेवाले जवाफ दिएका छैनन् । यसै विषयमा आज एयरलाइन्सका अधिकारीहरूसँग छलफल समेत गर्दैछ ।

यसअघि कतार एयरवेजले भैरहवा उडान रोकेको थियो । हाल भैरहवामा जजिरा, फ्लाइ दुबई, थाइ एयर एशिया र नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेका छन् ।

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ सेवा सुरू Read Previous

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ सेवा सुरू

आत्मनिर्भर हुन विदुरमा 'प्याज पकेट' कार्यक्रम संचालन Read Next

आत्मनिर्भर हुन विदुरमा 'प्याज पकेट' कार्यक्रम संचालन