काठमाडौं । अब काठमाडौं महानगरपालिका भित्र रहेका रुखमा झिलिमिली बत्ती राख्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकले ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको हो ।
महानगरभित्रका केही सार्वजनिक जग्गा, व्यक्तिगत जग्गा, विभिन्न पार्क, रेस्टुरा, क्लब, संघसंस्थाहरूले सजावटको नाममा रुखमा झिलिमिली बत्ती राखेका छन् । यसले रुख–बिरुवा सुकेको, करेन्ट लाग्ने डर भएको, चराचुरुंगीको वासस्थान नै लोप हुने अवस्था आएको भन्दै महानगरले कार्यविधि नै बनाएर रुखमा झिलिमिली बत्ती प्रयोगमा रोक लगाएको हो ।
कार्यविधि अनुसार नियमित रुपमा रुखमा झिलिमिली बत्ती राख्न पाइने छैन । यद्यपि, अनुमति लिएर ३ तीन दिनसम्मका लागि झिलिमिली यस्ता बत्ती राख्न पाइने महानगरले जनाएको छ ।
यस्तै, कार्यविधिमा जात्रा पर्वमा प्रयोग गरिने बत्ती बढीमा ७ दिनसम्म राख्न पाइने व्यवस्था गरिएको छ । अन्य व्यावसायिक तथा सार्वजनिक स्थानमा बत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्नेछ ।
सजावट र सुन्दरताका लागि राखिएका बत्तीको गुणस्तर, जनस्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभाव, प्राणी र जीवहरूको बास, आहार तथा आवतजावतमा पार्ने नकारात्मक असर घटाउने विषयहरू कार्यविधिमा समेटिएका छन् ।