काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् ।
मुख्य बजार क्षेत्रबाट ४ किमी दुरीमा पर्ने १०० मिटर अग्लो १८ तले कम्प्लेक्स १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो । नेपालकै अग्लो यो टावर कुल ४ बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । यो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।
भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।
प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।