काठमाडौं। साढे दुई महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस गरिएको छ । यसअघि सर्टलिस्टमा छनोट भएका पाँच जनाबाट अध्यक्ष छनोटका लागि अन्तिम तीन जनाको नाम सिफारिस गरिएको हो ।
बोर्डको अध्यक्षका लागि बोर्डका कार्यकारी निर्देशक नीरज गिरी, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुंगाना र राष्ट्रिय बिमा कम्पनीका पूर्वसञ्चालक डा. केशवप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ ।
अब मन्त्रीपरिषद बैठकले ती तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा बनेको समितिले सिफारिस गरेको यी तीन व्यक्तिको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने छन् । र, तिनैमध्येबाट एकलाई बैठकले नयाँ अध्यक्षको रूपमा नियुक्ति दिनेछ ।
बोर्ड अध्यक्षका लागि प्राप्त ८ जनाको आवेदनबाट शर्ट लिस्ट गरी ५ जनालाई अन्तरवार्तामा बोलाएको थियो । त्यसमध्ये सीताराम थपलिया अन्तर्वार्ता मै गएनन् भने डा. नवराज अधिकारी भने छनोट हुन सकेनन् । सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भन्दै छनोट समिति गठन गरेको थियो ।